अमेरिका–इजरायल र इरानबीचको बढ्दो तनावले विश्व अर्थतन्त्रलाई मात्र होइन, अन्तर्राष्ट्रिय हवाई आकाशलाई समेत गम्भीर संकटमा धकेलेको छ। युद्धका कारण इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले दक्षिण एसियासहित समग्र एसियाली वायुसेवा कम्पनीहरू 'इमर्जेन्सी म्यानेजमेन्ट मोड' (संकटकालीन व्यवस्थापन) मा जान बाध्य भएका छन्।
बीबीसीका अनुसार दक्षिण कोरियाको राष्ट्रिय ध्वजावाहक 'कोरियन एयर' ले मंगलबारदेखि नै आन्तरिक खर्च कटौतीका कडा कदमहरू लागू गरेको छ। युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा दक्षिण कोरियाको राष्ट्रिय ध्वजावाहक 'कोरियन एयर' ले संकटकालीन व्यवस्थापन (इमर्जेन्सी म्यानेजमेन्ट) मोडमा जाने घोषणा गरेको हो। हवाई इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण सिर्जित आर्थिक चाप कम गर्न कम्पनीले यस्तो निर्णय लिएको हो।
युद्ध सुरु भएयता कच्चा तेलको मूल्य ५० प्रतिशत र हवाई इन्धन (एटीएफ) को मूल्य करिब दोब्बर पुगेको छ। कम्पनीका प्रवक्ताले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार बढ्दो इन्धन खर्च र विश्वव्यापी आर्थिक अनिश्चितताबीच वित्तीय स्थिरता कायम राख्न 'आन्तरिक लागत कटौतीका उपायहरू' लागू गरिनेछ। इरानसँगको युद्ध सुरु भएयता आर्थिक प्रभाव न्यूनीकरणका लागि विशेष योजना सार्वजनिक गर्ने कोरियन एयर पछिल्लो एसियाली वायुसेवा कम्पनी हो।
पीडब्लुसी सिंगापुरका परामर्शदाता ट्यान ची सियाङकाअनुसार कोभिड–१९ महामारी जस्तै संकटबाट व्यवसाय जोगाउन वायुसेवा कम्पनीहरूले अहिले पुनः संकटकालीन प्रोटोकलहरू अपनाउन थालेका हुन्। विशेषगरी एसियाली विमान कम्पनीहरूले विश्वव्यापी तेलको मूल्यवृद्धि र क्षेत्रीय स्तरमा इन्धनको अभाव गरी 'दोहोरो झट्का' सामना गरिरहेका छन्। कोरियन एयरसहित एसियाना एयरलाइन्स र बुसान एयरले पनि संकटकालीन व्यवस्थापन सुरु गरिसकेका छन्।
नेपाल र भारतलाई सिधै असर
नेपालका लागि मुख्य श्रम गन्तव्य रहेको मध्यपूर्वी आकाशमा युद्धको बादल मडारिएपछि काठमाडौँ र दिल्लीबाट हुने उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। भारतको नागरिक उड्डयन प्राधिकरणले मार्चदेखि अक्टोबरसम्म १० प्रतिशत आन्तरिक उडान कटौती हुने प्रक्षेपण गरेको छ। भारत सरकारले भाडामा लगाएको सीमा (फेयर क्याप) हटाएपछि भारतीय विमान कम्पनीहरूले इन्धनको भार यात्रुको थाप्लोमा हाल्न थालेका छन्।
नेपालबाट मध्यपूर्वी देशहरू र युरोप उड्ने जहाजहरूले पनि 'रुट' परिवर्तन गर्नुपर्दा उडान समय र इन्धन खर्च दुवै बढेको छ। यसले गर्दा काठमाडौंबाट हवाई यात्रा गर्दा टिकटको मूल्य बढेको छ।
एसियाली आकाशमा 'डबल शक'
चीन र हङकङ: विश्वकै ठूलो तेल आयातकर्ता चीनका सरकारी वायुसेवा कम्पनी 'चाइना इस्टर्न' ले भूराजनीतिक द्वन्द्वले सञ्चालन खर्च धान्न कठिन भएको चेतावनी दिएको छ। हङकङको क्याथे प्यासिफिकले सबै उडानमा 'फ्युल सरचार्ज' थपेपछि हवाई भाडा ह्वात्तै बढेको छ।
जापान: जापान एयरलाइन्सले मध्यपूर्वी रुटहरू बन्द गरी युरोपका लागि वैकल्पिक बाटो प्रयोग गर्दा माग र मूल्य दुवै बढेको जनाएको छ।
सिंगापुर: सिंगापुर एयरलाइन्स र स्कुटले इन्धनको खर्च कुल सञ्चालन खर्चको ३० प्रतिशत पुगेको जनाएका छन्। सिंगापुरले सन् २०२६ देखि लागू गर्ने भनेको 'ग्रीन फ्युल लेभी' (वातावरणीय कर) समेत युद्धका कारण स्थगित गरेको छ।
साना कम्पनीलाई अस्तित्व जोगाउनै धौधौ
युद्धकै प्रभावका कारण मार्च २४ मा फिलिपिन्सले 'राष्ट्रिय ऊर्जा संकटकाल' घोषणा गरेको छ। राष्ट्रपति फर्डिनान्ड मार्कोसले इन्धन अभावका कारण जहाजहरू भुइँमै थन्किने (ग्राउन्डिङ) सम्भावना रहेको चेतावनी दिएका छन्। यता भियतनाम एयरलाइन्सले पनि इन्धन आपूर्तिमा ढिलाइ भएपछि कैयौँ आन्तरिक उडानहरू स्थगित गरेको छ। भियतनामले आफ्नो ९० प्रतिशत तेल मध्यपूर्वबाटै आयात गर्छ।
विज्ञहरूका अनुसार ठूला र पुराना वायुसेवा कम्पनीहरूले रुट परिवर्तन गरेर वा ठूला जहाज चलाएर केही हदसम्म क्षति न्यूनीकरण गर्न सक्छन्। तर, कम इन्धन कुशलता (फ्युल इफिसिएन्सी) भएका पुराना जहाज उडाउने साना र बजेट एयरलाइन्सका लागि यो संकट 'अस्तित्वको लडाइँ' बन्ने निश्चित छ।
Shares

प्रतिक्रिया