कारोबार


इन्दु शंकरले २८ लाख क्विन्टल उखु पेलेर उत्पादन गर्‍यो साढे ३ लाख क्विन्टल चिनी

किसानलाई एक सातामै भुक्तानी
इन्दु शंकरले २८ लाख क्विन्टल उखु पेलेर उत्पादन गर्‍यो साढे ३ लाख क्विन्टल चिनी

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०८२ सोमबार १४:१७, काठमाडौँ

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले तीन महिनामा २८ लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गरेको छ। 

गएको पुस ७ गतेदेखि सञ्चालनमा आएको उद्योगले सोमबार बिहानसम्म २८ लाख क्विन्टल उखु क्रसिङ गरेर साढे तीन लाख क्विन्टलभन्दा धेरै चिनी उत्पादन गरेको हो। 

‘९२ दिनमा हामीले २८ लाख क्विन्टल भन्दा धेरै उखु क्रसिङ गरेका छौँ,’ उद्योगका उखु प्रवन्धक योगनारायण रजकले नेपालखबरसँग भने, ‘यो सिजनमा अझै चार लाख क्विन्टल भन्दा धेरै उखु क्रसिङ गर्न बाँकी छ।’

उद्योग अझै १६ दिन चल्ने अनुमान गरिएको उनले बताए। 

२८ लाख क्विन्टल उखु क्रसिङ गरेर साढे तीन लाख क्विन्टलभन्दा धेरै चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ। 

इन्दु शंकर चिनी उद्योगको दैनिक उखु क्रसिङ क्षमता ५० हजार क्विन्टलभन्दा माथि छ। 

‘हामीले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका छौँ,’ इन्दु शंकरका प्रशासन प्रमुख ठाकुर नेपालले भने, ‘यस वर्ष गत वर्षभन्दा धेरै उखु क्रसिङ हुने भयो। ३५ लाख चाहीँ पुग्छ कि पुग्दैन, अब हेराैँ न।’ 

इन्दु शंकरले गत वर्ष ३१ लाख क्विन्टल भन्दा धेरै उखु क्रसिङ गरेको थियो।

इन्दु शंकरले क्रसिङ भएको उखुको एक सातादेखि १० दिनसम्ममा सबै भुक्तानी किसानको खातामा पठाउँदै आएको नेपालले जानकारी दिए। 

सर्लाही देशकै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो। इन्दु शंकरले यस वर्ष सर्लाही जिल्लाको मात्रै उखु क्रसिङ गरेको क्यान म्यानेजर रजकले बताए। गत वर्षसम्म उद्योगले महाेत्तरी, धनुषा लगायतका जिल्लाबाट पनि उखु ल्याउने गरेको थियो।

यस वर्ष उखुको मूल्य वृद्धि भएकाले किसान पनि उत्साहित छन्।

सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल ७० रुपैयाँ वृद्धि गरेर यस वर्षको लागि उखुको मूल्य निर्धारण गरेको छ। त्यसैगरि अघिल्लो सरकारले कटौती गरेको अनुदानको रकमलाई पनि निरन्तरता दिने निर्णय वर्तमान सरकारले गरेको छ। 

गत २२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको छ। यो उद्योगीले किसानलाई दिने रकम हो। 

यसमा सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसमेत जोड्दा यसवर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ६९० रुपैयाँ पाएका छन्। 

यस वर्ष उखुको मूल्य वृद्धि भएको र भुक्तानी पनि समयमै पाएकाले उखु खेतीप्रति किसानको आकर्षण फेरि बढ्न थालेको उद्योग प्रशासनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad