नेपालले आयातित इन्धनमाथिको निर्भरता घटाउने रणनीति लिइरहेका बेला जर्मनीले गण्डकी प्रदेशको ऊर्जा पूर्वाधारमा आफ्नो लगानीलाई सघन बनाएको छ। बुधबार नेपाल विद्युत प्राधिकरण र जर्मन सरकारका प्रतिनिधिले बुधबार तनहुँको दमौली सबस्टेशनमा २२० केभी लेखनाथ–दमौली प्रसारण लाइन आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपालका लागि जर्मन राजदूत उडो भोल्जले संयुक्त रूपमा आयोजना शिलान्यास गरेका हुन्। ४५ किलोमिटर लामो यो डबल सर्किट प्रसारण लाइनले तनहुँ जलविद्युत आयोजनासहित यस क्षेत्रका विद्युत गृहबाट उत्पादित करिब एक हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोड्नेछ।
जर्मन राजदूत राजदूत भोल्जले यो परियोजना बिजुलीका तार टाँग्ने काम मात्र नभइ, नेपालको नवीकरणीय ऊर्जा क्षमतालाई उद्योग र घरधुरीसम्म पुर्याउने प्रयास भएको बताए। 'नेपालको विशाल नवीकरणीय ऊर्जा क्षमताको उपयोग र प्रसारण प्रणाली सुदृढीकरणमा साझेदारी गर्न पाउँदा जर्मनीलाई गर्व छ,' उनले भने।
नेपाल र जर्मनीबीचको ६ दशक लामो कुटनीतिक सम्बन्धमा ऊर्जा क्षेत्र सधैँ प्राथमिकतामा पर्दै आएको छ। मर्स्याङ्दी करिडोरका आयोजनादेखि चिलिमे-त्रिशूली प्रसारण लाइनसम्म जर्मन सहयोग थियो। पछिल्लो समय जर्मनीले बागलुङका लघु-जलविद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्ने र पोखरा महानगरका लागि 'नगरपालिका ऊर्जा योजना' बनाउने जस्ता सूक्ष्म तर प्रभावकारी प्राविधिक काममा समेत हात हालेको छ।

Shares

प्रतिक्रिया