अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिमा केन्द्रित हुने बताएका छन्।
संसदमा अर्थमन्त्री खतिवडाले आज आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने प्राथमिकता तथा सिद्धान्तहरु प्रस्तुत गरेका हुन्।
कोभिड १९का कारण अर्थतन्त्र तहसनहस भएको बताउँदै उनले आगामी आर्थिक वर्ष भने उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने बताए। भूकम्पको समयपछि पनि नेपाल छिट्टै माथि उकासिएको र कोरोनापछि पनि सोही रुपमा अघि बढ्ने मन्त्री खतिवडाले बताए।
नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उनले कोरोना नियन्त्रणको लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने बताए।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरआबद्धताको कारण नेपालमा अर्थतन्त्रका क्षेत्रहरु श्रम, पर्यटनमा धेरै ठूलो प्रभाव परेको छ’, उनले भने, ‘अन्य क्षेत्रहरु पनि प्रभावित रहेकोले त्यसलाई ध्यान दिई उक्त क्षेत्रलाई पुनरुत्थान गर्न बजेट कार्यक्रमहरु समावेश गरिनेछ।’
विकास निर्माणमा कोरोनाले पारेको असरलाई प्राथमिकता दिई बजेट कार्यक्रम समावेश हुने, नेपालमा द्रुत विकासको जनआकांक्षा रहेकोले त्यसलाई ध्यान दिई नयाँ कार्यक्रम ल्याउने उनले संसदलाई जानकारी दिए।
उनका अनुसार भूमिहीन किसानलाई भूमिमा पहुँच दिने, कोरोनाले रोजगारी गुमाएकालाई र विदेशबाट फर्केकालाई स्वदेशमा नै रोजगारी दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालनमा आउनेछ।
उक्त कार्यक्रम प्रदेश र स्थानीय तहको समन्वयमा कार्यान्वयन हुने खतिवडाले बताए। उनले भने, ‘आगामी वर्ष निजी क्षेत्रको नवप्रवर्तन उद्यमीहरुलाई प्राथमिकतामा राखिनेछ।’
त्यस्तै, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन हुने कार्यक्रम समावेश हुने भएको छ। नेपालमा विद्युत उत्पादन बढिरहेकाले त्यसलाई अझ प्रथमिकता दिइने, अन्तर्देशीय प्रसारणलाइन विस्तार गरी विद्युत् व्यापारलाई प्रोत्साहन गरिने कार्यक्रम समेत आगामी आर्थिक वर्षमा आउने उनले बताए।
सुरुङ मार्ग, रेल मार्ग र जल मार्गलाई प्राथमिकता राखेर बजेट ल्याइने उनको भनाइ छ।
मन्त्री खतिवडाका अनुसार पञ्चवर्षीय योजनामा समावेश भएका केही योजनाहरुलाई पुनः प्राथमिकीकरण गरी बजेट व्यवस्था गरिनेछ। उनले भने, ‘चालू आयोजना जुन निर्माणाधीन छन् तर बजेट खर्च भएको छैन, ती आयोजनामा आवश्यक देखिए मात्रै थप बजेट दिइनेछ।’
Shares

प्रतिक्रिया