देशमा चुनावको माहोल छ। फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावको समानुपातिक उम्मेदवारपछि मंगलबार प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
साँझसम्म २९ सय२५ उम्मेदवारले मनोनयन दर्ता गरिसकेका निर्वाचन आयोगले जनाएको छ। योसँगै अब देश चुनावमा होमिएको छ। राजनीतिक दल र तिनका उम्मेदवारहरु व्यस्त भएका छन्।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले फागुन २१ मै चुनाव गराउने एजेन्डा पाएको थियो। सोहीअनुसार अहिले देश चुनावमा होमिँदा त्यसको प्रभाव अर्थतन्त्रको ऐना मानिने सेयरबजारमा पनि पर्न थालेको छ।
चुनाव हुने वातावरण बन्दै जाँदा सेयरबजारले त्यसलाई स्वागत गरिरहेको थियो। यस्तोमा धमाधम उम्मेदवारी मनोनयन अघि बढेपछि सेयर लगानीकर्ता उत्साहित भएका हुन्।
यसअघि गत पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीचको सहमति र प्रधानमन्त्रीसँग पुराना प्रमुख दलहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाउँदा ४७ अंकको वृद्धि देखिएको थियो। त्यसपछि आइतबार ३१ र मंगलबार पुनः ४४ अंकले बढेको हो।
मंगलबार लगानीकर्ताले ६ महिनायताकै धेरै कारोबार गर्दा सूचकले पनि ५ महिनायताकै उच्च विन्दु छुन सफल बन्यो। फलतः ५ महिनादेखि २७ सयको अवरोध तोड्ने नेप्सेको प्रयास मंगलबार सफल भएको छ।
गत भदौ २३ गते २७ सय अंकमा देखिएको नेप्से त्यसयता २७ भन्दा तल नै थियो। मंगलबार भने २७१४ अंकमा पुगेर सो अवरोधलाई पनि पार गरेको छ। त्यसो त चुनावी माहोलले नै गत पुस १३ गते पनि नेप्सेलाई माथि उठाउन मद्दत गरेको थियो।
चुनावले बढाउन सक्छ बजार
चुनाव हुने माहोल सिर्जना गर्ने सूचना, राजनीतिक सहमति भएका दिनहरुमा निरन्तर बजारले उकालो गति लिनुले आउँदो चुनावका कारण नै बजार बढ्न सक्छ भन्ने अनुमान गर्न थालिएको छ।
सेयरलगानीकर्ता मुक्ति अर्याल चुनावी माहोलले सेयरबजारलाई बढाउन मद्दत पुग्ने धारणा राख्छन्।
‘राजनीतिक चहलपहललाई बजारले ‘रियाक्ट’ गर्छ नै’, उनले भने, ‘अब हुने चुनावमा नयाँ ‘एलायन्स’ बलियो भएर आयो भने त्यसले स्थिर सरकार, मार्केट फ्रेन्डली पोलिसी आउने आशा र उत्साह दुवै बढाउने हुनाले पनि चुनाव छेउछाउका केही समय बजार बढ्ने सम्भावना रहन्छ।’
चुनावले जनतामा उत्साह भर्ने हुँदा त्यसले बजारमा पनि सकारात्मक सन्देश प्रवाह गरेको अर्यालको भनाइ छ।
उनले भनेजस्तै ६ महिनादेखि सुस्ताउँदै आएको सेयरबजार पुनः चलायमान बन्न थालेको छ भने निष्क्रिय बस्दै आएका लगानीकर्ताले लगानी बढाउन थालेका छन्। यसले चुनावी माहोलले सेयरबजारलाई पनि चलायमान बनाउन पुगेको प्रस्ट हुन्छ।
पछिल्ला चुनावी वर्षहरुमा यस्तो थियो बजारको लय
नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय सेयरबजारमा राजनीतिक उतारचढावले विशेष महत्व राख्ने गर्छ। नेपालमा पनि राजनीतिक अभिव्यक्तिदेखि राजनीतिक घटनाक्रमहरुले बजारलाई थपघट हुन सघाउने गरेको छ।
यद्यपि अभिव्यक्ति र अनुमानलाई पर राखेर तथ्यांकलाई हेर्ने हो भने चुनावले नै बजारको दिशा परिवर्तन भने गरेको देखिँदैन। २०५२ सालयता सम्पन्न भएका ६ वटा निर्वाचनले सेयरबजारमा ठूला परिवर्तनहरु नदेखाए पनि स–साना स्विङहरु भने सिर्जना गरेको देखिन्छ।
वि.सं. २०५१, २०५४, ०६४, ०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनहरुमा बजार सामान्य समयभन्दा केही मात्रामा बढेको तथ्यांकले देखाउँछ।
सेयरबजारको कारोबार सुरु भएयता मात्रै नेपालमा ६ वटा निर्वाचन भएका छन्।
प्रतिनिधिसभाको निर्वाचन २०५१ सालमा नेप्से १८८ अंकबाट २३१ अंकसम्म उक्लिन पुगेको थियो।
त्यसपछिको स्थानीय निकायको निर्वाचन २०५४ मा भने नेप्सेले नयाँ उचाइ लिन सकेन। बरु १८८ अंकमा रहेको नेप्से सूचक वर्षभरमा १० अंकले घटेर १७७ अंकमा आइपुगेको थियो।
२०५१ सालमा बुल (बढ्दो ट्रेन्ड)मा रहेको नेप्सेले तीन वर्षसम्म उकालो यात्रा तय गरे पनि दोस्रोपटकको निर्वाचन (२०५४ सालको)मा बजारले त्यतिधेरै चुनावी प्रभाव देखाउन सकेको देखिँदैन।
यस्तै संविधानसभाको निर्वाचन २०६४ मा पुनः नेप्सेले ५ सय १३ अंकबाट एकैपटक १ हजार २५ अंकको छलाङ मारेको थियो।
सो वर्षको वैशाखमा ५३३ उच्चतम अंकमा रहेको नेप्से निर्वाचनको घोषणाताका (मंसिरमा) १ हजार २५ अंकमा उक्लिएको थियो भने चुनावकै महिना चैतमा भने घटेर ७ सय ४६ अंकमा आइपुगेको थियो। त्यसपछिका वर्षहरुमा पुनः घटेर ५ सयकै हाराहारीमा आइपुगेको थियो।
२०७० सालको मंसिरमा संविधानसभाको चुनाव भयो। सो वर्ष नेप्सेले पुनः २ सय अंकको फड्को मारेको थियो। २०६९ चैतसम्म ५२३ अंकमा रहेको नेप्से निर्वाचनको घोषणासँगै निर्वाचन भएको महिना र त्यसपछि पनि निरन्तर बढेर ८१८ अंकमा पुगेको देखिन्छ।
यद्यपि अघिल्लो वर्षहरुजस्तो नयाँ रेकर्ड भने बनाउन सकेन।
त्यसपछि २०७४ सालको वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो। सो वर्ष भने अघिल्ला चुनावहरुजस्तो वृद्धि देखिन सकेन। बरु निर्वाचनको महिना (वैशाख)मा १६५८ रहेको नेप्से चैतसम्म आइपुग्दा घटेर १२७७ अंकमा ओर्लिन पुगेको थियो।
यस्तै २०७९ सालमा एकैपटक दुईवटा निर्वाचन भएका थिए। वैशाखमा स्थानीय तहको र मंसिरमा प्रदेशतहको निर्वाचन भएको थियो।
२०७८ भदौमा ३२ अंकको उच्चतम विन्दु छोएको नेप्सेले ओरालो लाग्नेक्रममा रहँदा २०७९ सालमा भएको दुवै निर्वाचनमा बजारले उति उचाइ लिनसकेको थिएन।
बरु २०७८ माघबाट २९५३ अंकमा रहेको नेप्से निरन्तर घटेर निर्वाचनको महिना २०७९ वैशाखमा आइपुग्दा २३५६ सम्म ओर्लिएको देखिन्छ। वैशाखपछि पनि बजार निरन्तर घटिरहेको थियो।
सोही वर्ष मंसिरमा भएको प्रदेशसभाको निर्वाचनमा पनि नेप्सेले तल्लो विन्दु २२८१ सम्म छुन पुग्यो। तर निर्वाचन महिना (मंसिर)पछिको पुस र माघ महिनामा भने नेप्से बढेर २९५६ सम्म पुगेको थियो।
समग्रमा २०५२ सालयता भएका ६ वटा निर्वाचनमध्ये ३ वटा चुनावी वर्षहरुमा नेप्से बढेको देखिन्छ भने बाँकी तीन वटामा कुनै प्रभाव परेको देखिँदैन।
२०५२ को चुनावी सालमा बढेको नेप्से २०५४ को चुनावमा घट्न पुग्यो भने २०६४ साल र २०७० साल दुवैमा नेप्से बढ्न पुगेको देखिन्छ। त्यसपछिको निर्वाचन २०७४ घटेको नेप्से २०७९ को चुनावी वर्षमा पनि घटेको थियो।
‘उत्साह बढाउँछ, ट्रेन्ड बदल्दैन’
लगानीकर्ता सुवास चन्द्र ढुंगाना चुनावले लगानीकर्तामा उत्साह बढाएको स्वीकार्छन्। तर त्यसैले मार्केटको ट्रेन्ड (बजार प्रवृत्ति) बदल्ने सम्भावना कमै रहने उनको भनाइ छ।
उनका अनुसार बजारमा आउने बुलिस (बढ्दो) र बियरिस (घट्दो) चक्रअनुसार चुनावी वर्षहरुको प्रभाव पनि छुट्टाछुट्टै परेको बताउँछन्।
सेयरबजार बुलिस मार्केटमा रहँदा आएका चुनावहरुमा बजारले नयाँ रेकर्ड बनाए पनि बियरिस साइकलमा परेका चुनावले पनि मार्केट बढाउन नसकेको उनी बताउँछन्।
‘चुनावी वर्षहरुमा मार्केट बुलमा छ भने त्यसले बढ्न थप सपोर्ट पाउँछ। यसले उक्त वर्ष नयाँ रेकर्ड राख्ने सम्भावना रहन्छ। तर यदि मार्केट बियरिसमा छ भने चुनावले पनि खासै हलचल गर्दैन’, उनले नेपालखबरसँग भने ।
उनी लामो समयदेखि नेप्से साइडवेजमा रहेका कारण फागुनमा हुने निर्वाचनलाई बजारलाई थप चलायमान बनाउन भने सहयोग गर्ने धारणा राख्छन्।
‘अहिले लामो समयदेखि साइडवेजमा छ। यसलाई सकारात्मक समाचार पर्खिरहेको मानिन्छ। चुनाव पनि मार्केटका लागि सकारात्मक नै हो’, उनले भने।
यति भन्दै गर्दा पनि चुनावले मात्रै मार्केटको ट्रेन्ड बदल्न नसक्ने उनको भनाइ छ।
त्यसो त फागुनमा हुने चुनाव अन्य वर्षहरुभन्दा रोचक हुने निश्चित छ। जेनजी आन्दोलनपछि राजनीतिमा नयाँ अनुहारहरु प्रशस्तै देखिने सम्भावना छ।
नयाँ नेतृत्व सरकारमा आउन सक्ने सम्भावनाका कारण देशमा चुनावपछि राजनीतिक स्थिरता हुने तथा नयाँ नेतृत्वले नयाँ नीतिहरु ल्याउनसक्ने विश्वास लगानीकर्ताहरुले गरिरहेका छन्।
नयाँ राजनीतिक परिस्थितिले सुस्त रहेको अर्थतन्त्र चुनावकै कारण केही चलायमान हुने निश्चित छ भने त्यसपछि पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ। यसले बजारलाई थप बढाउन मद्दत गर्नेछ।
‘लगानीकर्ताहरूले खोज्ने स्थिर सरकार नै हो। चुनावपछि स्थिर सरकार बन्ने र मार्केट फ्रेन्ड्ली पोलिसी आउन सक्ने आशा लगानीकर्तामा सञ्चार हुने हुँदा त्यसले सूचकलाई केही माथि तन्काउने सम्भावना रहन्छ’, ढुंगानाले भने।
Shares

प्रतिक्रिया