कारोबार


चुनावी माहोलले बढायो सेयरबजार, करिब ५ महिनायताकै उच्च विन्दुमा नेप्से

चुनावी माहोलले बढायो सेयरबजार, करिब ५ महिनायताकै उच्च विन्दुमा नेप्से

नेपालखबर
माघ ६, २०८२ मंगलबार १५:१२, काठमाडौँ

देशमा चुनावी सरगर्मी बढ्दा सेयरबजारले त्यसलाई सकारात्मक प्रतिक्रिया दिएको छ। 

मंगलबार नेप्से सूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा चढेको हो। गत भदौ २३ गते २७ सयमा रहेको नेप्से त्यसयता माथि जान सकेको थिएन। तर आइतबार सूचक करिब ५ महिनापछिकै उच्च अर्थात् २७ सयभन्दा माथि पुगेको हो।

मंगलबार देशभर फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता भइरहँदा सेयरबजारले स्वागत गरेको हो। चुनाव हुने परिस्थिति बन्दै जाँदा नेप्से पनि उच्च अंकले बढिरहेको थियो। आइतबार पनि ८ अर्बको कारोबार भएको थियो भने नेप्से ३१.१२ अंकले बढेको थियो। 

आज सेयरबजारमा सूचकमा उछालसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ। यस दिन कुल ११ अर्ब ८५ करोडको किनबेच भएको छ। लगानीकर्ताले २ करोड ५१ लाख कित्ता बिक्री गर्दा कारोबार रकममा उच्च सुधार आएको हो। 

गत साउन १३ गते ३ हजारको अवरोधलाई नेप्से धक्का दिएको थियो। यस दिन १८ अर्ब ५२ करोडको कारोबार भएको थियो। त्यसपछि ३ हजार विन्दु पार गर्न नसक्दा बजार निरन्तर घट्दै आएको थियो। 

त्यसपछि साउन १८ गते २९२४.१५ मा पुग्दा कारोबार १३ अर्ब ७ करोडको भएको थियो। त्यसयता निरन्तर ओर्लिएको नेप्से सूचक र कारोबार दुवैले सो रेकर्ड तोड्न सकेका छैनन्। 

मंगलबार २२४ वटा सेयरको मूल्य बढ्दा ३१ वटाको घटेको र ५ वटाको आइतबारकै मूल्यमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स १० प्रतिशत, आँखुखोला जलविद्युत् ८.१३ प्रतिशत, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ७.८७ प्रतिशत, नेशनल हाइड्रोपावर ७.३२ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर ७.०४ प्रतिशतले बढेका छन्। 

गिरावटतर्फ अधिकतम ४.२३ प्रतिशतले मात्रै सेयरहरु घटेको नेप्सेले जनाएको छ। 

सर्वाधिक कारोबार गरेको एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोडको, राधी विद्युतको ३९ करोडको, मञ्जुश्री फाइनान्सको ३७ करोडको, ग्रिन भेन्चर्स ३० र एसवाई प्यानलको २६ करोडको किनबेच भएको छ। मंगलबार सबै उपसूचक हरियो छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad