कारोबार


लुम्बिनीमा २५ जना विश्वप्रसिद्ध अर्बपति आउँदै

लुम्बिनीमा २५ जना विश्वप्रसिद्ध अर्बपति आउँदै

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १७:५८, काठमाडौँ

लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ।

‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो।

आयोजक संस्था द प्रामिज्ड ल्यान्ड फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल वर्ल्ड यूथ फेडरेसन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो। 

आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा बढी सहभागी उपस्थित हुनेछन्। कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विद्वान, कलाकार, युवाहरू र समुदाय प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा फर्च्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन्।

कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी र संसारकै एक मात्र अवशिष्ट रामग्राम स्तुपामा केन्द्रित हुनेछ। नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी दिए। कार्यक्रममा विभिन्न मुलुकका तीनजना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उनले बताए।

उनले नेपालको वर्तमान अवस्थाको सेफल्यान्डिङ लुम्बिनीबाट गरि उज्वल भविष्य निर्माण गर्ने, विश्वलाई शान्तिको सन्देश संसारभर लाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। 

कार्यक्रममा शान्ति, जलवायु, विकास, सामाजिक न्याय तथा व्यक्तिगत कल्याण सम्बन्धी उच्च–स्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, संगीत र कलाका कार्यक्रम हुनेछन्। यस्तै डिसेम्बर १२ मा रामग्राम स्तुपामा आयोजना हुने दीप प्रज्वलन समारोहमा हजारौँ दीप प्रज्वलित गर्दै विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरिनेछ।

विश्व शान्ति कार्यक्रम २०२३ मा संयुक्त राष्ट्रमहासचिव एन्टनियो गुटेरेसले लुम्बिनी यात्रा गरी शान्तिको सन्देश दिएपछि शुरु भएको हो। तेस्रो संस्करणमा २५ जना विश्व अर्बपति उपस्थिति हुने कारण नेपालमा ठूलो लगानी, बहुक्षेत्रीय साझेदारी र परिवर्तनकारी परियोजनाका अवसर खुल्ने अपेक्षा समेत व्यक्त गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad