कारोबार


मन्त्री घिसिङको निर्देशनपछि तोडियो १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का

मन्त्री घिसिङको निर्देशनपछि तोडियो १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १३:२४, झापा

हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइको कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ। 

सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले बिहीबार सूचना जारी गर्दै ठेक्का ताेडिएको जानकारी गराएकाे हाे।

याे पुल निर्माणका लागि  कार्यालयले पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता गरेको थियाे।  

पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रमसँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो।

सुरुमा पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न  गर्ने भनिएको थियाे। तर पाँचपल्ट म्याद थप्दा पनि निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ।

ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो। ठेक्का सम्झौता रद्ध गरिए पछि निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत भएको छ।

योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो। निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए।

ठेक्का ताेडेसँगै हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी  उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने बताएका थिए।

मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिँदै आएका छन्।

कन्काई पुलको ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको थियाे। तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन। 

पुलका १९ स्पानमध्ये ८ वटाको निर्माण सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म हालिएको छ। ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad