कारोबार


पहिलोपटक अग्राधिकार सेयरले पायो धितोपत्र बोर्डबाट स्वीकृति, नबिल बैंकले निष्काशन गर्ने

पहिलोपटक अग्राधिकार सेयरले पायो धितोपत्र बोर्डबाट स्वीकृति, नबिल बैंकले निष्काशन गर्ने

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १४:५१, काठमाडौँ

नबिल बैंकको अग्राधिकार सेयरले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। 

बोर्डले ८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर परिपत्र विधिबाट बिक्रीका लागि विवरणपत्र स्वीकृति प्रदान गरिएको जनाएको छ। 

यसको लाभांश दर ८ प्रतिशत छ भने ५ करोड कित्ता निष्काशन गरिनेछ। त्यस्तै प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ भने परिपत्र विधिबाट बिक्री हुनेछ। 

यसका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक राखिएको छ। 

धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन अनुमति दिएको हो। 

यो सेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशत लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। 

‘परिपत्र विधिबाट निष्काशन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरुलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ’, बोर्डले भनेको छ। 

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार यो सेयर संस्थापक समूहको साधारणसेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लाभांश वितरण्या गर्दछ। नोक्सानीमा रहेको वर्ष र सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असञ्चिति प्रकृतिको अग्राधिकार सेयर भनिएको हो। 

खासगरी २००७-०९ को विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा भने पहिलोपटक निष्काशन हुन लागेको हो।बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको छ।यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन्।अग्राधिकार सेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे बमोजिम हुनेछ।कम्पनी विघटनको समयमा यस सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पूँजीभन्दा पछाडि रहन्छ।

यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने हुँदा वित्तीय संकटको जोखिमलाई न्यूनिकरण गर्ने र वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्न सक्ने देखिन्छ।साथै, लगानीकर्तालाई पनि लगानीको नयाँ उपकरण उपलब्ध हुनेछ।यद्यपि, यो सेयर अविमोच्य र अंसचिति प्रकृतिको भएकोले संस्थागत लगानीकर्ताले लगानी गर्नु अगाडि विवरण पत्र र रिस्क डिस्क्लोजर स्टेटमेन्ट राम्रोसँग अध्ययन गर्नु अनिवार्य छ। साथै, आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्न उपयुक्त हुने बोर्डको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad