संघीय राजधानी काठमाडौँ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाटै सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय दुई वर्षभन्दा बढी बितिसक्दा पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको छ।
महानगरपालिकाले २०८० जेठ १९ गते सूचना जारी गर्दै २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण सार्वजनिक सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्न निर्देशन दिएको थियो। तर अझै अधिकांश रुटका सवारीसाधन चक्रपथका विभिन्न स्थानबाट नै सञ्चालन भइरहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।
पाण्डेका अनुसार, निर्णय कार्यान्वयनका लागि महानगरले निरन्तर पहल गरिरहेको भए पनि सबै सवारीसाधनलाई बसपार्कभित्र लैजान चुनौती कायम छ। 'केही सवारीसाधन बसपार्कबाट सञ्चालन हुन थालेका छन्, बाँकीलाई पनि अनिवार्यरूपमा त्यहीँबाट सञ्चालन गर्नुपर्छ,' उनले भने। महानगरका निर्णय लागू गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
हाल चक्रपथका गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खु लगायत स्थानहरूबाट बस र माइक्रोबस चल्ने क्रम अझै रोकिएको छैन। गोँगबुस्थित विष्णुमती किनारको १६१ रोपनी भूमिमा महानगरले निर्माण गरेको नयाँ बसपार्क लोत्से बहुउद्देश्यीय प्रालिमार्फत सञ्चालनमा छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार यातायात व्यवसायीले बारम्बार अटेर गरेकाले निर्णय कार्यान्वयनमा अवरोध देखा परेको हो। 'हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रैबाट सञ्चालन गर्न भनेका थियौँ तर व्यवसायीहरू मानिरहेका छैनन्,' उनले बताए।
यद्यपि, पोखरा, चितवन, बुटवल लगायतका रुटमा चल्ने ठूला तथा माइक्रोबस भने अहिले नयाँ बसपार्कबाटै सञ्चालन हुँदै आएका छन्। मेयर बालेन्द्र साह पदभार लिएपछि चक्रपथ आसपासका १०० भन्दा बढी अवैध बस–टिकट काउन्टर हटाइएपछि केही सुधार देखिएको महानगरको दाबी छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने मोडेलमा सार्वजनिक यातायात व्यवस्थित गर्न व्यवसायीहरू तयार रहेको बताए। हाल नयाँ बसपार्कबाट दैनिक ३०० लामो दूरीका तथा २०० छोटो–मध्यम दूरीका बस देशका विभिन्न भागतर्फ जाने गरेका छन्।
Shares

प्रतिक्रिया