कारोबार


६९ वर्षदेखि निर्माणसम्पन्न हुन नसकेको राजमार्ग

त्रिभुवन राजपथको विकल्पमा अघि सारियो, अहिलेसम्म बन्न सकेन
६९ वर्षदेखि निर्माणसम्पन्न हुन नसकेको राजमार्ग

बिहीबार कान्ति राजमार्ग निरीक्षण गर्दै भौतिकमन्त्री कुलमान घिसिङ (इन्सेटमा राजमार्गको नक्सा)


निर्दोष घोरसाइने
मंसिर ५, २०८२ शुक्रबार १०:१८, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार कान्ति राजमार्गको निरीक्षण गरे, पुनर्निर्माण र मर्मतसम्भारको जानकारी लिए।

काठमाडौं–हेटौंडा जोड्ने यो सडकलाई छोटो दूरीको वैकल्पिक मार्ग मानिन्छ। गत वर्ष असोजमा आएको बाढी पहिरोबाट राजमार्गका विभिन्न खण्डमा क्षति पुगेकाले अहिले यसको पुनर्निर्माण भइरहेको छ। मन्त्री घिसिङ यसकै जानकारी लिन पुगेका थिए। सो क्रममा उनले आगामी वर्षाअघि नै निर्माणसम्पन्न गर्न निर्देशन दिएका छन्। 

काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गमध्ये छोटो भएकाले यसलाई यथाशीघ्र निर्माणसम्पन्न गरेर सहज यातायात सञ्चालन हुने वातावारण बनाउनुपर्नेमा मन्त्रीको जोड छ। 

गत वर्षको असोजको बाढी पहिरोबाट ललितपुरतर्फको करिब २० किलोमिटर र मकवानपुरतर्फ तीन/चार स्थानमा क्षति पुगेको कान्ति राजमार्ग सडक आयोजनाले जानकारी दिएको छ। 

आयोजनाका इन्जिनियर राजन पाण्डेले ललितपुरतर्फ भैंसे खोला, कार्कीबास, नयाँ गाउँ, छपली, तामा खानी क्षेत्र र मकवानपुरतर्फ सिमाद, घट्टेपाखा क्षेत्रमा क्षति पुगेको जानकारी दिए। 

‘सडक पुनर्निर्माणका लागि साना ठूला गरेर ४ वटा प्याकेजमा ठेक्का लगाइएको छ। पुनर्निर्माणका लागि साढे २ अर्ब स्रोत सहमति मिलेको छ’, उनले नेपालखबरसँग भने, ‘यी प्याकेजको ठेक्का रकम साढे १ अर्ब रुपैयाँ छ।’ 

गत जेठ–असारमा यी प्याकेजको ठेक्का सम्झौता भएको थियो। यसअनुसार आर्थिक वर्ष २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य छ। 

सिमादमा पुलको सुपर स्ट्रक्चरको काम बाँकी रहेको उनले बताए। 

बगुवामा नयाँ पुल निर्माण गर्न दुई वर्षअघि नै ठेक्का लगाइएको छ। तर गत असोजको बाढीका कारण पहुँच मार्ग बगेकोले त्यसको भेरियसनको काम बाँकी रहेको उनले जानकारी दिए। 

२०१३ सालमै निर्माण सुरु, अहिलेसम्म सकिएन 
कान्ति राजमार्ग (लोकपथ) सडकको निर्माण काठमाडौं–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पको रुपमा वि.सं. २०१३ सालबाट सुरु भएको हो। 

पूर्वसचिव तथा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार २०१३ सालदेखि नेपाली सेनाले यसको ट्रयाक खोल्न सुरु गरेको थियो भने २०१६ देखि सवारीसाधन गुड्न थालेका थिए।  

तत्कालीन अवस्थामा मकवानपुर–ललितपुरको सीमा बगुवास्थित बागमती नदीमा काठको पुल निर्माण गरिएको थियो। उक्त पुल २०१८/१९ सालमा बागमती नदीमा आएको बाढीले बगायो। सोसँगै  यातायात सेवा अवरुद्ध हुन पुगेको उनी बताउँछन्।

सिन्धुपाल्चोक–काभ्रेपलाञ्चोक–ललितपुर–मकवानपुर परियोजनाअन्तर्गत मकवानुरको सिमाद खोला र बागमती नदीमा पुल निर्माण गरिएसँगै यातायात सञ्चालनमा आएको थियो। 

‘कान्ति राजमार्ग कच्ची सडक थियो। त्रिभुवन राजपथ कालोपत्रे सडक बन्यो। सवारी साधन माटे सडकभन्दा पनि कालोपत्रेबाट गुड्न थाले’, थापाले नेपालखबरसँग भने, ‘कान्ति राजमार्गमा विस्तारै सवारीसाधन गुड्न बन्द भए।’ 

२०५४/५५ सालमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले अध्ययन गर्न चासो देखाएसँगै कान्ति राजमार्ग दुई लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढेको उनी बताउँछन्। कोइकाले २०६० सालमा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी सरकारलाई बुझाएको थियो। उक्त डीपीआरअनुसार कान्ति राजमार्ग स्तरोन्नति गर्न करिब १ अर्ब २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। 

सरकारले आर्थिक वर्ष २०६४/६५ देखि ललितपुरको एकान्तकुनादेखि मकवानपुर, हेटौंडाको बुद्धचोकसम्मको ७९ किलोमिटर सडक डबल लेनमा कालोपत्रे गर्ने र आवश्यक पुल निर्माण गर्ने गरी कान्ति राजमार्गको विस्तार प्रक्रिया अघि बढाएको थियो।

उक्त समयमा आयोजनाको लागत अनुमान ६ अर्ब रुपैयाँ रहेकोमा हाल संशोधित लागत अनुमान ८ अर्ब ८३ करोड रुपैयाँ पु¥याइएको छ। हाल कान्ति राजमार्ग आर्थिक वर्ष २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

आयोजना सुरु भएदेखि ७५.९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको थियो। जसअनुसार आयोजनाको भौतिक प्रगति ७० प्रतिशत छ। गत वर्षको बाढीले ती संरचना क्षतिग्रस्त भएका छन्।
हालसम्म कान्ति राजमार्गमा ३ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ लगानी भइसकेको छ। समष्टिगत वित्तीय प्रगति ४६.६७ प्रतिशत छ। 

सुरुवाती चरणमा कान्ति राजमार्ग ललितपुर र हेटौंडा सडक डिभिजनबाट निर्माण हुँदै आइरहेको थियो। आर्थिक वर्ष २०७२/७३ मा कान्ति राजमार्ग योजना कार्यालय स्थापना भएसँगै निर्माण प्रक्रियाले तीव्रता पाएको थियो। २०७६ जेठ ६ गतेको मन्त्रिपरिषद्ले कान्ति राजमार्गलाई रामार्गमा विस्तार गर्ने निर्णय गरेको थियो। राष्ट्रिय राजमार्ग कम्तीमा पनि दुई लेनको हुनुपर्ने सरकारी नीति छ। 

कान्ति राजमार्ग दुई लेनमा विस्तार गरिए पनि अन्य राजमार्गजस्तो सडक सीमा ११ मिटरको छैन। सडक सीमा नालीसहित ८ देखि साढे ८ मिटर मात्र छ। 

सहायक मार्गको सडक सीमा ३० मिटर हुन्छ। कान्ति राजमार्गको सडक सीमासम्बन्धी जानकारी राजपत्रमा प्रकाशित भएको छैन। कानुनले पनि राजपत्रमा प्रकाशित नगरी सडक सीमा उल्लेख नहुने व्यवस्था छ। जसले गर्दा ललितपुरतर्फको बस्ती क्षेत्रको सडक साँघुरो भएको थापा बताउँछन्। 

कान्ति राजमार्ग खण्डमा पर्ने पहाडहरु कमजोर चटानका छन्। जसले गर्दा सामान्य पानी पर्दा पनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ। 

विभिन्न ठाउँमा वर्षातको समयमा बारम्बार गइरहने पहिरोका कारण सडक अवरुद्ध भइरहने हुँदा पहिरो पन्छाई तुरुन्त यातायात सञ्चालन गर्ने कार्य चुनौतीपूर्ण रहने गरेको योजनाले जानकारी दिएको छ। 

सडक सीमा नतोकिएकोले सडक सीमाभित्र घर/टहरा निर्माण, सडक क्षेत्रबाट बालुवा, ढुंगा उत्खनन गर्नेजस्ता सडक अतिक्रमणको समस्या छ। कमजोर भूबनावट तथा ठाडो ढलानका कारण निर्माण भइसकेको संरचनाहरुमा क्षति हुने गरेको आयोजनाले जानकारी दिएको छ। 

कान्ति राजमार्ग सडक स्तरोन्नति प्रक्रिया सुरु भएसँगै ललितपुरका दक्षिण–पूर्वी भेग र मकवानुपरको पूर्वोत्तर भेगका बासिन्दाको जीवनयापनमा सुधार भइरहेको छ। सडक क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थ, दूध, तरकारीले बजारको पहुँचमा पुगेको छ। 

साथै काठमाडौं–तराई द्रुतमार्ग बनाउन आवश्यक निर्माण सामग्री ढुवानी गर्न पनि कान्ति राजमार्गले सहयोग पुर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad