बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु भएको छ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा बत्ती जडानका लागि पोल झारेको छ। अब पोल गाडेर बत्ती जडान गरिनेछ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्यान्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको अन्तक्रियाको क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए।
यसैगरी, फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि जडान गर्न पम्प साइटमा आपूर्ति गरिसकिएको छ।
स्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ।
Shares

प्रतिक्रिया