नेपालस्थित बेलायती दूतावासले काठमाडौंबाट आफ्ना नागरिक उद्धारको लागि अन्तिम चार्टर्ड उडान गरेको छ। दूतावासले लकडाउनपछि आफ्ना नागरिक लैजाने तेस्रो र अन्तिम उडान भएको बताएको हो।
दूतावासले परराष्ट्र मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आफ्ना नागरिक लैजानको लागि सहयोग गरेकोमा खुसी व्यक्त गरेको छ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ७ सय बढी आफ्ना नागरिकलाई फिर्ता लगेको बताएकी हुन्।
‘नेपालमा आएका ७ सयभन्दा बढी नागरिकलाई आफ्नो घर पठाउन पाउँदा खुसी लागेको छ’, उनले ट्विट गर्दै भनेकी छन्, ‘यो अन्तिम उडान हो। नेपालमा भएका बेलायती नागरिकलाई परामर्श सेवा दिइरहनेछौं।’
शुक्रबार उडान गरेको टाइटन एयरमा २२३ जना छन्। जसमा १८० बेलायती नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रले जानकारी दिए।
Shares

प्रतिक्रिया