भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी नेपाली श्रमिकलाई लक्षित गर्दै डिजिटल माध्यमबाट कोषमा योगदान बुझाउने सुविधा सुरु गर्ने सम्झौता भएको छ।
अब विदेशमा रहेका नेपाली श्रमिकले फोनपे नेटवर्कअन्तर्गतका बैंकको मोबाइल बैंकिङ एपमार्फत सीधै सामाजिक सुरक्षा कोषमा योगदान बुझाउन सक्नेछन्। यस पहलले फोनपे नेटवर्कको पहुँच र प्रविधिको उपयोग गरी योगदान प्रक्रिया अझ सहज र सुलभ बनाउने लक्ष्य राखेको छ।
सम्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।
कुँवरले भने, “फोनपे नेटवर्कको व्यापक पहुँचका कारण यो सहकार्य प्रवासी नेपाली श्रमिकका लागि निकै उपयोगी हुनेछ। यसले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज तरिकाले योगदान गर्न सहयोग पुर्याउनेछ र रेमिट्यान्स पठाउन औपचारिक च्यानलको प्रयोगलाई पनि प्रोत्साहन गर्नेछ।”
सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हरेक नेपाली श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न यो सम्झौता गरिएको बताए।
यो सेवा अहिले फोनपे बिल्स प्लेटफर्ममार्फत सुरु भइसकेको छ, जुन नेपालका सबै बैंक र वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत उपलब्ध छ।
Shares

प्रतिक्रिया