तीन वर्षअगाडि २०७८ मा सेयरबजारलाई अर्थतन्त्रको ऐना मान्ने कि नमान्ने विषयले खुबै चर्चा पायो।
कोभिड संक्रमणको महामारीले अर्थतन्त्र थलिँदा पनि बजार परिसूचक नेप्से ३२ सय पुगेर नयाँ रेकर्ड बनेपछि यसबारे बहस सिर्जना भएको थियो।
धेरैले सेयरबजारलाई अर्थतन्त्रको ऐना मान्न नहुने मत राखिरहेका थिए। यद्यपि अन्तर्राष्ट्रिय रुपमा पनि सेयरबजारलाई अर्थतन्त्रको ऐना नै मानिँदै आएको छ।
त्यतिखेर महामारीको प्रभावस्वरुप अर्थतन्त्र निष्क्रिय मात्रै रहेन, सूचकहरु पनि राम्रा थिएनन्। यद्यपि नेप्से भने हरेक दिनजसो कीर्तिमान कायम गरिरहेको थियो।
यसरी अर्थतन्त्रका सूचकसँग नेप्सेको तालमेल नमिलेको हुँदा सेयरबजार ‘अर्थतन्त्रको ऐना’ हुन नसक्ने मतलाई बल मिलेको थियो।
२०७९ सालको मौद्रिक नीतिसँगै राष्ट्र बैंकले बजारमा नीतिगत कडाइ गर्न थाल्यो। यसपछि बजारको कीर्तिमानी गति सुस्तायो। नयाँ रेकर्ड बनेन।
त्यसपछि लगानीकर्ताले साझा धारणा बनाए, ‘कडा नीतिले सेयरबजार धरमरायो, नीतिगत सहजीकरण चाहियो।’
अर्थतन्त्रका केही सीमित सूचकमा सुधार देखिँदै गएपछि कर्जा प्रवाह बढाउनुपर्ने दबाबका बीच राष्ट्र बैंकले निरन्तर आफूले लिएका कडा नीतिलाई लचिलो बनाउँदै गयो।
नभन्दै पछिल्लो एक वर्षमा राष्ट्र बैंकले लगानीकर्ताले मागेका अधिकांश मागहरु पूरा भएका छन्।
बजारप्रति उदार मानिने डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि लगानीकर्ताले बजारलाई फाइदा पुग्ने नीतिहरुको सूची नै बनाएर दिएका थिए।
सेयरबजारलाई उत्पादनमूलक क्षेत्रसँग जोड्न सक्नुपर्ने धारणा पहिलेदेखि नै राख्दै आएका गभर्नर पौडेलले पनि लगानीकर्ताको मागबमोजिम नै बजारमैत्री मौद्रिक नीति ल्याएका छन्।
लगानीकर्ताले सेयर कर्जा सीमा हटाउनुपर्ने भनेकोमा गभर्नर पौडेलले सेयर धितो कर्जामा लाग्दै आएको व्यक्तिगततर्फको सीमालाई १५ करोडबाट २५ करोडमा पुर्याइदिएका छन्।
लघुवित्तहरुलाई १५ प्रतिशतको लाभांश वितरणको सीमालाई हटाएर क्षमताअनुसारको लाभांश दिने व्यवस्था मिलाएका छन्।
पछिल्लो एक वर्षयता बजारले किस्ताबन्दी रुपमा नीतिगत सहजता पाइरहेकामा आगामी मौद्रिक नीतिबाट थप सहज बन्ने भएको छ। तर यसका बाबजुद पनि बजारले सकारात्मक प्रतिक्रिया भने जनाउन सकिरहेको छैन।
मौद्रिक नीति आएपछिको पहिलो कारोबार दिनमा २९ अंकले बढेको (नेप्से) दोस्रो दिन उस्तै अंकले घटेको छ। आइतबार मौद्रिक नीतिलाई देखाएर बजारमा ठूला खेलाडीहरुले कारोबार गर्दा त्यसले सेयर माग बढाएको थियो। यसले सूचक र कारोबार बढाए पनि सोमबारको बजारमा भने त्यस्तो दृश्य देखिएन।
सोमबार ३२ अंकले घटेको नेप्सेमा कारोबार पनि ७ अर्ब हाराहारीमा मात्रै भयो। आइतबारको तुलनामा सोमबार ३ अर्ब २७ करोड रुपैयाँ कारोबार रकम घट्न पुग्यो।
आइतबार सकारात्मक प्रतिक्रिया देखाए पनि सोमबार सोही क्रमलाई निरन्तरता दिन नसक्दा बजार दोस्रो दिन नै राताम्मे बनेको हो।
इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार मौद्रिक नीतिको असर बजारमा हेर्न केही दिन पर्खिनुपर्ने बताउँछन्।
उनले भने, ‘एकदमै राम्रो मौद्रिक नीति आएको छ, लगानीकर्ताको आत्मविश्वास बढाउने गरी नीति आउनाले सेयरबजारलाई सकारात्मक प्रभाव पार्छ नै, त्यसको प्रभाव हेर्न केही समय कुर्नुपर्छ।’
मौद्रिक नीतिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ।
Shares

प्रतिक्रिया