नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् महशुलसम्बन्धी विवाद लामो समयको अन्योलपछि समाधानको बाटोमा गएको बताएको छ।
सय दिन पूरा गरेको अवसरमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चाँडै समाधान हुने जानकारी दिएका हुन्।
उनका अनुसार यसका लागि सञ्चालक समितिबाट पुनरवलोकनको म्यादसहित पुनरवलोकन धरौटी रकममा संशोधन, पुनरवलोकन समितिको अध्यक्ष नियुक्तिलगायतको नीतिगत निर्णय गरिएको सोहीअनुसार सार्वजनिक सूचना जारी गरिएको छ।
यसअनुसार पुनरवलोकनको लागि ४६ निवेदन प्राप्त भएको र हाल पुनरवलोकन कमिटीले पुनरवलोकनसम्बन्धी कार्य गरिरहेको शाक्यले बताए। निश्चित अवधिभित्रै यो विषय समाधान हुने उनको भनाइ छ।
योबीचमा औद्योगिक क्षेत्रमा विद्युत् खपत वृद्धि र विश्वासको वातावरण सिर्जना गरिएको उनले दाबी गरेका छन्। उच्चतम विद्युत् खपत र नियमित महशुल भुक्तानीका आधारमा केन्द्रीयस्तरमा १० सर्वाधिक महत्त्वपूर्ण उपभोक्ता र प्रादेशिकस्तरमा प्रदेशका १० अत्यन्त महत्त्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेश प्रदेशका त्यस्ता ग्राहकलाई सम्मान गरिएको उनले बताए।
त्यसैगरी देशैभर कार्यालय रहेका ठूला कर्पोरेट ग्राहकको प्रत्येक इकाइ ग्राहकहरुको महशुल भुक्तानी केन्द्रीकृत रुपमा एकै स्थानबाट गर्न सकिने गरी छुट्टै पेमेन्ट गेटवे निर्माण गरिएको र हाल परीक्षणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया