कारोबार


दोधारा–चाँदनी सुक्खा बन्दरगाहमा एक हजार ५९३ रुख कटान, शिलान्यासको तयारी

दोधारा–चाँदनी सुक्खा बन्दरगाहमा एक हजार ५९३ रुख कटान, शिलान्यासको तयारी

नेपालखबर
असार २२, २०८२ आइतबार १६:४७, कञ्चनपुर

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन्।

आज सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताएका हुन्।

गृहमन्त्री लेखकले भने, ‘बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ। अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको छ। निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना छ।’ 

बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन्। 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।  सोही सम्झौताअनुसार दुवै तर्फबाट निर्माणको तयारी भइरहेको हो। भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँको लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको छ। 

बन्दरगाह निर्माणका लागि प्रयोग हुने जग्गामा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, इमिग्रेसन तथा सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। 

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ। भारतले आफ्नो क्षेत्रतर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad