यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले रु ४० लाख १२ हजारभन्दा बढीको चिनी नष्ट गरेको छ।
चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए।
उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएको थियो। कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको भनेपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको पनि भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले बताए।
यस्तै, छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा ल्याएको रु पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको नायब सुब्बा ढुङ्गानाले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया