कारोबार


राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैन : अर्थमन्त्री पौडेल

राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैन : अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८२ शनिबार १४:४६, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेर छोड्ने बताएका छन्। 

शनिबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पारे।

राजश्वको अनुमान लक्ष्य पूरा गर्न मेहनत बढी गर्नुपर्ने आवश्यकता औंल्याउँदै मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य रहेको उनको दाबी छ। वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको बताए। वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भनेपनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको मन्त्री पौडेलले बताए।

‘राजश्वको सन्दर्भमा जुन अनुमान गरिएको छ, राजश्वको अनुमान म यहाँहरुसँग आँखा जोडेर भन्न चाहन्छु,’ मन्त्री पौडेलले भने, ‘आगामी आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा समीक्षाको बेलामा फेरि प्रश्न सोध्न सक्नुहुन्छ, पूरा भएन नि त राजश्वको लक्ष्य भनेर। त्यो स्पेस मैले दिएको छैन। हो मेहनत गर्नुपर्नेछ। मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य छ। चुपचाप बसेर आफैँ हुँदैन, मेहनत गर्नुपर्छ।’

उनले थपे, ‘त्यसरी राजश्वको लक्ष्य निर्धारण गरिएको छ।आन्तरिक ऋणमा म के भन्न चाहन्छु भने हाम्रो वित्त आयोगले जुन सीमा निर्धारण गरेको थियो, जीडीपीको ५.५ प्रतिशतसम्म तपाईंहरुले ऋण लिन सक्नुहुन्छ भनेर जुन सीमा निर्धारण गरिएको थियो, वित्त आयोगले दिएको सीमा भन्दा कममा आन्तरिक ऋण परिचालन गर्नेकुरा बजेटले बोलेको छ। हामीले ५.३ मात्रै आन्तरिक ऋण उठाउँछौँ भनेको छौँ। यसले पनि हामी मनमर्जी ढंगले ऋण उठाउने पक्षमा छैनौँ भन्ने देखाउँछ।’

देश विकासका लागि जनशक्ति र प्राकृतिक श्रोतको आवश्यक हुने बताए। उनले प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनैपनि देशको विकास हुनसक्ने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad