पाकिस्तानसँग हालै भएको द्वन्द्वपछि भारतका गुप्तचर एजेन्सीहरूले जासुसीको आरोपमा देशभित्र धेरै जनालाई पक्राउ गरेको छ।
जसले पाकिस्तानको निर्देशनमा देशको संवेदनशील जानकारी पाकिस्तानी एजेन्टहरूलाई दिने गरको आरोप छ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्तो आरोपमा राजस्थान, महाराष्ट्र, दिल्ली, हरियाणा, उत्तर प्रदेश, गुजरात र पन्जाबमा गरी अहिलेसम्म कम्तीमा १५ जनालाई पक्राउ गरिएको छ।
गिरफ्तार गरिएका व्यक्तिमा सोसल मिडिया इन्फ्लुएन्सरदेखि सरकारी कर्मचारीसम्म छन्।
केही जानकारी:
मुम्बईमा इन्जिनियर
महाराष्ट्र एटीएसले मुम्बईबाट २७ वर्षीय इन्जिनियर रवीन्द्र वर्मालाई पक्राउ गरेको छ। वर्मा नौसेना जहाज र पनडुब्बीहरूसँग सम्बन्धित काम गर्थे। पाकिस्तानी एजेन्टहरूले उनलाई फेसबुकमा ‘पायल शर्मा’ र ‘इस्प्रित’ नक्कली प्रोफाइलमार्फत फसाएका थिए। वर्माले जहाजहरूको नक्सा, नाम र तालिकाजस्ता गोप्य जानकारी दिने गरेको आरोप छ। उनी नोभेम्बर २०२४ देखि यी एजेन्टहरूसँग सम्पर्कमा रहेको दाबी गरिएको छ।
ट्राभल भ्लगर ज्योति मल्होत्रा
हरियाणा प्रहरीले प्रसिद्ध ट्राभल भ्लगर ज्योति मल्होत्रालाई पनि पक्राउ गरेको छ। उनीविरुद्ध पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग सम्बन्ध रहेको आरोप छ। उनका फोन र ल्यापटपबाट १२ टीबी डेटा फेला पारिएको र त्यसमा आईएसआई एजेन्टसँग कुराकानीको गरेको प्रमाण रहेको दाबी छ।
ज्योति पाकिस्तान गएकी थिइन् र त्यहाँ शंकास्पद व्यक्तिहरूलाई भेटेकी थिइन्। उनीविरुद्धको मुद्दामा जुन महिनामा सुनुवाइ हुनेछ।
सीआरपीएफ जवान
सीआरपीएफ जवान मोती राम जाटलाई राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दिल्लीबाट पक्राउ गरेको छ। जाटले २०२३ देखि पाकिस्तानी गुप्तचर अधिकारीहरूलाई गोप्य जानकारी दिएको आरोप छ। एनआईएका अनुसार जाटले पैसाको बदलामा संवेदनशील जानकारी दिने गरेका थिए। उनका सामाजिक सञ्जाल गतिविधिबाट शंका उत्पन्न भएपछि उनलाई पक्राउ गरिएको हो। जाट जुन ६ सम्म हिरासतमा छन्।
गुजरातमा स्वास्थ्यकर्मी पक्राउ
एटीएसले गुजरातको कच्छ जिल्लाबाट २८ वर्षीय स्वास्थ्यकर्मी सहदेव सिंह गोहिललाई पक्राउ गरेको छ। उनले भारतीय वायुसेना र बीएसएफका संवेदनशील तस्बिर र भिडिओ एक पाकिस्तानी एजेन्टलाई पठाएको आरोप छ। उनी २०२३ देखि "अदिति भारद्वाज" नामक नक्कली पहिचान भएको एजेन्टसँग सम्पर्कमा रहेको ४०,००० रुपैयाँ भुक्तानी पनि लिएको दाबी गरिएको छ।
हरियाणामा धेरै युवा पक्राउ, राजस्थानमा सरकारी कर्मचारी
हरियाणामा आईएसआईका लागि भर्ती नेटवर्क पत्ता लागेको दाबी छ। २५ वर्षीय देवेन्द्र सिंह ढिल्लन, २४ वर्षीय नौमान इलाही र नुह जिल्लाका अरमान र तारिफलाई पक्राउ गरिएको छ। ती सबैले पाकिस्तानी एजेन्टहरूलाई संवेदनशील जानकारी र तस्बिर पठाइरहेको पाइएको आरोप छ। जैसलमेरका सरकारी कर्मचारी शकुर खानलाई पनि जासुसीको आरोपमा पक्राउ गरिएको छ। खान सातपटक पाकिस्तान गएको र उनको डिजिटल डेटामा शंकास्पद लेनदेन फेला परेको दाबी अनुसन्धानले गरेको छ।
डिजिटल जासुसी र सिम कार्ड खेल
दिल्ली प्रहरीले राजस्थानका कासिमलाई पाकिस्तानी एजेन्टहरूलाई भारतीय सिम कार्डहरू उपलब्ध गराएको आरोपमा पक्राउ गरेको छ। कासिमले अगस्ट २०२४ देखि मार्च २०२५ सम्म पाकिस्तानको यात्रा गरेका थिए। साथै उत्तर प्रदेश र पन्जाबमा पनि संवेदनशील जानकारी पठाएको आरोपमा धेरै जनालाई पक्राउ गरिएको छ। भारतको सुरक्षामा कुनै सम्झौता नहोस् भनेर अनुसन्धान एजेन्सीहरूले यस नेटवर्कको गहन अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया