विदेशी सूचना प्रविधि कम्पनीले चालू आर्थिक वर्षमा नेपालमा दोब्बरले कर दाखिला बढाएका छन्।
मेटा, गुगल, माइक्रोसफ्टलगायतले गत आर्थिक वर्षमा ३५ करोड राजस्व तिरेकोमा चालू आर्थिक वर्षको चैतसम्म ५१ करोड मूल्यअभिवृद्धि कर (भ्याट) तिरिसकेका छन्।
सरकारले आर्थिक वर्ष २०७९/०८० बाट कम्पनीहरुको दर्ता सुरु गरेको थियो। हालसम्म १९ कम्पनी नेपालमा दर्ता भइसकेका छन्।
चालू आर्थिक वर्षको ९ महिनासम्म भने १ कम्पनी मात्रै थप भएको छ। आर्थिक वर्ष २०७९/८० मा ९ वटा मात्रै दर्ता भएका थिए। ०८०/०८१ मा १८ पुगेका थिए।
विदेशी कम्पनीहरुले नेपालमा कारोबार गरेपनि करको दायरामा थिएनन्।
ठूला करदाता कार्यालयले मूल्यअभिवृद्धि करसँगै डिजिटल सर्भिस ट्याक्स समेत उठाउने गरेको छ।
ठूला करदाता कार्यालयले विदेशी कम्पनीसँग दर्ता भएयता कुल ९६ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। मेटाले मात्रै ३१ करोड ८८ लाख रुपैयाँ राजस्व सरकारलाई बुझाएको ठूला करदाता कार्यालयले जनाएको छ।
कर कार्यालयमा दर्ता हुनेमा एप्पल सर्भिस, गुगल एसिया, एनसीएस पार्सन, लिंक्डइन, मेटा प्लेटफर्म, माइक्रोसफ्ट, अमेजन वेब सिरिज, अमेजन सर्भिस, गुगल आयरल्यान्ड, टिकटक, एडोब सिस्टम, नेटफ्लिक्स छन्।
त्यसैगरी जोहो कर्पोरेसन, गुगल डिजिटल इंक, प्रोम्याट्रिक जापान कम्पनी, इब्स्को इन्टरनेसनल इंक, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड, पिअर्सन एजुकेसन लिमिटेड, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स दर्ता छन्।
एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) बेलायती कम्पनी हो। यसले व्यावसायिक कम्पनीहरुको ब्यालेन्स सिट बनाउँछ। त्यसबाट डिजिटल कामबाट गरेको आम्दानीको कर कम्पनीले तिरिरहेको छ।
पिअर्सन एजुकेसन लिमिटेड पनि नेपालमा दर्ता भएको छ। किताबहरु बिक्री वितरण गर्ने उद्देश्यले दर्ता भए पनि कम्पनीले कारोबारको विवरण पेस गरेको छैन। इब्स्को इन्टरनेश्नलले अनुसन्धानमूलक तथ्यांक र ई–बुक उपलब्ध गराउँछ।
कम्पनीहरुले प्रत्येक आर्थिक वर्ष डिजिटल सर्भिस ट्यास पनि बुझाउनुपर्छ।
Shares

प्रतिक्रिया