कारोबार


१० बैंकको कर्जा गुणस्तर मूल्यांकनका लागि प्राविधिक छनोटमा पर्‍यो बंगलादेशी कम्पनी

१० बैंकको कर्जा गुणस्तर मूल्यांकनका लागि प्राविधिक छनोटमा पर्‍यो बंगलादेशी कम्पनी

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १७:३१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आह्वान गरेको वाणिज्य बैंकहरूको कर्जा गुणस्तर मूल्यांकनका लागि बंगलादेशी कम्पनी प्राविधिक छनौटमा परेको छ। 

राष्ट्र बैंकले बैंकहरूको लेखापरीक्षणका लागि बंगलादेशको ढाकामा रहेको हौलादर युनुस एन्ड कम्पनी छनौट गरेको हो। 

राष्ट्र बैंकले कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि श्रीलंका, भारत र बंगलादेशका ६ वटा अडिट कम्पनीलाई सर्टलिस्टमा राखेको हो।

सूचीमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी छ भने भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिस, मेहरा र जेकेएसएस एसएसबीडी आई जेभी र भारतीय र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर्स एमएसकेएस एन्ड एसोसिएट र एसआरबीए एन्ड बीके अग्रवाल एन्ड कम्पनी थिए। 

त्यसमा प्राविधिकतर्फ बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी मात्रै छनौटमा परेको हो। एउटा मात्रै कम्पनी छनौटमा परेपनि राष्ट्रबैंकले आर्थिक प्रस्ताव जेठ २५ गते खोल्ने जनाएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालका १० वाणिज्य बैंकहरूको कर्जा सम्पत्तिको गुणस्तर मापनका लागि विदेशी कम्पनीबाट अडिट गर्नुपर्ने शर्त राखेको थियो।

यसअघि बैंकले अडिट प्रक्रियाका लागि विदेशी अडिट कन्सल्टेन्सीहरुमा प्रस्ताव आह्वान गरेको थियो भने प्राविधिकतर्फ भारतको केपीएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो।

तर उक्त कम्पनीले पनि लागत अनुमान र उपलब्ध बजेटभन्दा बढी लागतसहित प्रस्ताव गरेपछि राष्ट्र बैंकले सम्पूर्ण प्रस्ताव नै रद्द गरेको थियो।

बैंकले भदौ ८ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा ३६ उपदफा (१) (ख) बमोजिम लागत अनुमान र उपलब्ध बजेटभन्दा छनोट भएको प्रस्तावदाताको लागत सारभूतरूपमा बढी भएको भन्दै बैंकले केपीएमजीको प्रस्ताव पनि रद्द गरेपछि सम्पूर्ण प्रक्रिया नै खारेज भएको थियो।

सो प्रक्रिया खारेजीपछि राष्ट्र बैंकले दोस्रो पटक पुस ५ गते सूचना जारी गर्दै प्रस्ताव आह्वान गरेको थियो। सोही प्रस्तावमा फेरि केपीएमजीसहित १० वटा विदेशी कम्पनीहरूलाई सर्टलिस्ट गरेको हो। 

नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा लिने सम्झौता गरेको छ। 

सम्झौता पूर्ण कार्यान्वयनका लागि कोषले १० ठूला वाणिज्य बैंकको कर्जा सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने उल्लेख थियो। सोही कारण राष्ट्र बैंकले दोस्रो पटक पोर्टफोलियो रिभ्यु गर्नका लागि प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad