कारोबार


सवारी चालक अनुमतिपत्र अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने

सवारी चालक अनुमतिपत्र अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १७:२३, काठमाडौँ

सवारी चालक अनुमतिपत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाइ गर्न लागेको हो। 

समझदारीपत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन्। 

अब सुरक्षण मुद्रण केन्द्रले क्युआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको सवारी चालक अनुमतिपत्र छपाइ गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

नवीकरण गरिएको समेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए। 

तत्काल अनमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेश समेत गरिएको छ। 

हाल सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ। 

सरकारी निकायहरुबीचमा नै सहकार्य गरी सवारी चालक अनुमतिपत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिवसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल समेत भएको थियो।

दुई सरकारी निकायबीचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ।

दुवै पक्षबीच भएको समझदारीअनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्रमा प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad