कारोबार


अर्थतन्त्र चलायमान हुने गरी भूमिका खेल्न गभर्नरलाई निजी क्षेत्रको सुझाव

अर्थतन्त्र चलायमान हुने गरी भूमिका खेल्न गभर्नरलाई निजी क्षेत्रको सुझाव

नेपालखबर
जेठ ७, २०८२ बुधबार १८:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन्।

निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानूमानयोग्य हुने बताए।

‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो। अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ। निर्णयहरू पूर्वानूमानयोग्य हुनुपर्दछ। बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,’ उनले भने।

गर्भनर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए।

नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए। उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरे।

‘चालू आवमा कर्जाको ब्याजदर न्यून हुँदासमेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैरमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ। नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ। केन्द्रीय बैंकका नीतिहरू पनि स्थिर हुन आवश्यक छ,’ अध्यक्ष ढकालले भने।

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनुपर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनुपर्ने सुझाव दिए। 

अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरी सहज बनाउन आग्रह गरे।

महासंघले विगत वर्षहरूमा उच्च ब्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालू आवमा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्न गर्भनरलाई सुझाव दिएको छ।

सो अवसरमा महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले भूमिका खेल्नुपर्ने बताए।

यस्तै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको ब्याजमा अन्तर गर्नुपर्ने सुझाव दिए। 

सो अवसरमा महासंघका उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्स्ना श्रेष्ठ र कोषाध्यष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरु बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिए। 

यस्तै महासंघको प्रतिनिधिमण्डलले गभर्नर  पैडेलललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad