कारोबार


गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

नेपालखबर
बैशाख २९, २०८२ सोमबार ८:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना वर्तमान सरकारले कार्यान्वयन नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन्।

डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज योजना कार्यान्यवनमा अनिच्छा देखाएको आरोप लगाए।

अर्थमन्त्रीका रूपमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा पुनले त्रिभुज परियोजना प्रस्ताव गरेका थिए।

बजेटमा उक्त कार्यक्रम प्रस्ताव गर्नुअघि पौडेलसँग परामर्श गर्दा उनले कार्यक्रम राम्रो रहेको भनी प्रशंसा गरेको तर अहिले बेवास्ता गरेको गुनासो पुनले गरे।  

मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को एकतिहाइ योगदान गर्ने भैरहवा, पोखरा र भरतपुर क्षेत्र जोडेर अघि सारिएको उक्त आयोजना अघि बढाउन जरुरी रहेको पुनले बताए।

‘चालु आर्थिक वर्षमा अर्थमन्त्रीका रूमपा बजेट प्रस्तुत गर्दा मैले काठमाडौँ वरिपरिको त्रिकोणात्मक क्षेत्रका रूपमा रहेका भैरहवा, पोखरा र चितवनलाई मिलाएर गण्डकी आर्थिक त्रिभुजका रूपमा अघि बढाउन परियोजना प्रस्ताव गरेको थिएँ’, पुनले भने, ‘त्यतिबेला पनि मैले वर्तमान अर्थमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ। उहाँले त्यो राम्रो सोच हो भन्नुभएको थियो। तर, अहिले कार्यान्वयन गर्न सक्नुभएन। उहाँका अप्ठ्यारा के हुन् थाहा भएन, तर त्यो जरुरी थियो।’

पुनका अनुसार चालु बजेटमा आर्थिक वृद्धिका सम्भावनाका क्षेत्र समेटी एकीकृत विकासको अवधारणाअनुरूप नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रूपमा गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको थियो।

परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने उल्लेख थियो। गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणघाट–बुटवल र मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरी डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्वद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने अवधारणा उक्त कार्यक्रममा थियो।

यस्तै परियोजना कार्यान्वयनका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टीकृत स्वास्थ्य सेवाका, पोखरा कोणमा साहसिक मनोविनोद, पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षाका पूर्वाधार तथा बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने प्रस्ताव थियो।

उक्त परियोजना कार्यान्वयनका लागि पुनले चालु आर्थिक वर्षको बजेटमा दुई अर्ब विनियोजन गरेका थिए।

कार्यक्रममा पुनले मुलुकको विकासमा ढिलाई हुनुको कारणमध्ये नीतिगत निरन्तरता एक भएको औँल्याए।

फरक प्रसंगमा पुनले कुनै बेला नेपाललाई दुई ढुंगाबीचको तरुल भन्ने गरिएको चर्चा गर्दै भारत र चीनजस्ता विश्वकै ठूला अर्थतन्त्रबीचमा रहेको नेपालले भाइब्रेन्ट ब्रिजको भूमिकामा प्रस्तुत गर्नुपर्ने बताए।

सोही अवधारणाअनुसार डा बाबुराम भट्टराई प्रधानमन्त्री र आफू अर्थमन्त्री भएका बेला उत्तर र दक्षिणको अर्थतन्त्रसँग जोडिन उत्तर-दक्षिण करिडोर (सडक) को अवधारणा ल्याइएको बताए।

अर्को एक प्रसंगमा उनले आन्तरिक वा बाह्य ऋण लिनै नहुने नभई त्यस्तो ऋणबाट प्राप्त रकम प्रतिफल दिने राम्रा पूर्वाधार निर्माण, रोजगारी सृजना र उत्पादन वृद्धिका परियोजनामा लगानी गर्नुपर्ने धारणा राखे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad