कारोबार


गभर्नर बन्न पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

गभर्नर बन्न पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

नेपालखबर
बैशाख २८, २०८२ आइतबार २०:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य अर्थविद् डा. विश्व पौडेलले राजीनामा दिएका छन्।

सत्तारुढ दुई दलका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमति भएपछि सिफारिस समितिबाट राजीनामा दिएका हुन्। 

पौडेलले आइतबार राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पुष्टि गरेको छ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति भए पनि राष्ट्र बैंककै डेपुटी गभर्नर नीलम ढुंगाना बाधक बनेकी छन्। गभर्नर बन्नका लागि भट्टले राजीनामा दिए पनि ढुंगानाले राजीनामा स्वीकृत नगरी रोकेर राखेपछि भट्टलाई सिफारिस गर्न नमिलेको हो।

भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलले समेत ढुंगानालाई भनेका थिए। अघिल्लो साता नै देउवालाई भेटेर अर्थमन्त्री पौडेलले भट्टको राजीनामा स्वीकृत हुने र कांग्रेस एमालेबिचको सहमती अनुसार नै भट्ट गभर्नरमा सिफारिस हुने वचन दिएका थिए।

तर ढुंगानाले पौडेलले भनेको मितिमा पनि राजीनामा स्वीकृत गरिनन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिको विषयमा पटकपटक छलफल भएको थियो। पछिल्लो छलफलमा ओलीले देउवालाई भट्टबाहेकको विकल्प दिन प्रस्ताव गरेका थिए।

जुन प्रस्ताव अनुसार शनिबार देउवाले विश्व पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। त्यसमा प्रधानमन्त्री ओली पनि सहमत भएसँगै नियुक्तिको बाटो खुल्ने देखिएको छ।

तर गभर्नर सिफारिस समितिका अर्का सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध पनि सर्वोच्चमा आइतबार रिट दर्ता भएको छ। अधिकारी सिफारिस समितिमा बस्न नमिल्ने भन्दै परेको रिटमा मंगलबार पेसी तोकिएको छ। 

अधिकारीको विषयमा सर्वोच्चको आदेश आउनुअघि नै सिफारिस समितिले पूर्णता पाएर गभर्नरका लागि नाम सिफारिस नभएमा दुवै सदस्य नयाँ ल्याउनु पर्ने अवस्था समेत आउन सक्ने देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad