राजनीति


कांग्रेसद्वारा ‘सिंगापुर विकास मोडल’बारे छलफल

कांग्रेसद्वारा ‘सिंगापुर विकास मोडल’बारे छलफल

नेपालखबर
जेठ २१, २०८३ बिहिबार २१:२५, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे विचार–विमर्श गरिएको छ।

कांग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेवल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापासहित पार्टीका केन्द्रीय सदस्यहरू, सांसदलगायतको सहभागिता थियो।

कार्यक्रममा हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासहरूबारे विस्तृत प्रस्तुति दिए। आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिक केन्द्रित नीतिनिर्माणका लागि सिङ्गापुरबाट नेपालले सिक्न सक्ने महत्वपूर्ण पाठहरूबारे  विचार राखेका थिए।

हियानले सिंगापुर आर्थिक रूपमा समृद्ध भएपनि केही सामाजिक सूचकहरूमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै विकासको अन्तिम उद्देश्य नागरिकलाई खुसी बनाउनु हुनुपर्नेमा जोड दिए।

उनले भ्रष्टाचारविरुद्धका कानुनको कडाइका साथ कार्यान्वयन, मेरिट प्रणालीको अवलम्बन, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताका कारण सिंगापुरले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति हासिल गर्न सफल भएको बताए। 

नेपालको सन्दर्भमा सुझाव दिँदै उनले सुशासनका लागि कठोर र प्रतिबद्ध हुनुपर्ने, साथै कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागीहरूले नेपालको वर्तमान अवस्था र विकासका चुनौतीसँग सम्बन्धित विभिन्न प्रश्नहरू राखेका थिए। हिएनले ती प्रश्नहरूको उत्तर नेपालकै सन्दर्भमा केन्द्रित भएर दिएका थिए।

कार्यक्रममा सभापति थापाले हियानलाई नेपाली ढाका टोपी, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

हियानको प्रस्तुति र अन्तरक्रियापछि सभापति थापाले सुशासन नै समुन्नतिको प्रमुख आधार भएको उल्लेख गर्दै सिंगापुरको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए।

उनले सिंगापुरका बारेमा विगतदेखि धेरै सुन्दै आएको भएपनि त्यहाँका विद्वानसँग प्रत्यक्ष संवादबाट थप उपयोगी जानकारी प्राप्त भएको उल्लेख गरे। नेपालको नीति निर्माण, सुशासन र समृद्धिका लागि यस्तो छलफल मार्गदर्शक बन्न सक्ने उनको विश्वास थियो।

सभापति थापाले वर्तमान सरकारको प्रमुख प्राथमिकता पनि सुशासन रहेको बताइँदै आएको स्मरण गराउँदै सुशासनको अभियानमा कांग्रेस सहयोग गर्न तयार रहेको स्पष्ट पारे। तर सुशासनका लागि सरकारमा रहेका व्यक्तिहरूको व्यवहार र प्रतिबद्धतासमेत देखिनुपर्ने उनको भनाइ थियो।

कांग्रेसको ग्रिन टेवल छलफल श्रृङ्खलामा शुक्रबार पनि छलफल हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad