सेयरबजार पछिल्ला घटनाक्रमले प्रभावित बन्ने देखिएको छ। लामो समययता अलमलिएको सेयरबजारमा दुई नियामक निकायका नेतृत्वसँग सम्बन्धित घटनाक्रमले अन्योल बढाएको हो।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा महिना दिनदेखि भइरहेको ढिलाइ र कम्पनीहरुको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डको नेतृत्वले कमिसन मागेको कुराले लगानीकर्तामा अन्योल थपिदिएको छ।
गिजोलिएको गभर्नर नियुक्ति र त्यसले देखाएको राजनीतिक अस्थिरताका बीच नियामकीय बदमासीका सूचना बाहिरिनुले बजारलाई थप कमजोर बनाउने आधार बलियो भएको लगानीकर्ताहरु बताउँछन्।
बजारमा हुने यस्ता गतिविधिले थप अन्योल बढाउने सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्।
‘नयाँ गभर्नर नआउँदा बजारले गतिलिन सकेको छैन’, उनले भने, ‘अहिले फेरि आईपीओमा कमिसनको सूचना बाहिरिएको छ। यसले बजारलाई सिधा प्रभाव पार्ने निश्चित छ।’
बैंकहरुसँग लगानीका लागि पर्याप्त तरलता रहेको र ब्याज पनि तल्लो विन्दुमा आएको अवस्थामा बजार बढ्नुपर्ने थियो। तर अनुकूल माहोलका बीच भइरहेका पछिल्ला घटनाक्रमले लगानीकर्तालाई निराश बनाएको उनको भनाइ छ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनसँगै नयाँ गभर्नरलाई स्वागत गर्न सेयर लगानीकर्ता आतुर थिए। तर तीव्र राजनीतीकरणले महिना दिनसम्म पनि गभर्नर नियुक्ति हुनसकेको छैन। सोही कारण लगानीकर्ताले अपेक्षित कारोबार नै गर्नसकेका छैनन्। यसले सेयर बजारको गति नै रोकिन पुगेको छ।
गत चैतयता सूचकले अपेक्षित उचाइ लिनसकेको छैन। सरकारले गभर्नर नियुक्त गर्न सिफारिस समिति बनाएको दिन बढेको सेयरबजार त्यसयता उस्तै अंकले बढ्न सकेको छैन।
नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो। सोहीअनुसार उनले वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा समेत दिइसकेका छन्।
तर उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन्। लामो समय राजीनामा ‘होल्ड’ गर्दा ढुंगानाले अख्तियार दुरुपयोग गरेको प्रश्न उठ्न थालेको छ। उनको ‘इगो’ ले गभर्नर नियुक्ति प्रक्रिया नै अवरुद्ध भएको छ।
चैत १६ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेलसहितको सिफारिस समिति गठन भएको थियो। त्यसको भोलिपल्ट चैत १७ गते २९ अंकले नेप्से पनि बढ्यो। त्यसयता भने त्यति नै दरमा बढ्न सकेन। बरु सिफारिस प्रक्रिया नै गिजोलियो। त्यसको प्रभाव बजार राताम्य भयो।
त्यसयता २४ कारोबार दिनमा सात दिन सामान्य अंकले नेप्से बढे पनि बाँकी १७ कारोबार दिनमा बजार निरन्तर घट्न पुग्यो। यो अवधिमा बजार घट्दा दोहोरो अंकले घट्यो भने बढ्दा एकल अंकले बढ्न सफल भयो। यसले बजारलाई टेवा मिलेन।
पछिल्लो २४ दिनमा नेप्सेले अधिकतम २७३९ विन्दु छोएको देखिन्छ भने न्यूनतम (मंगलबार) २६०८ अंकमा झरेको देखिन्छ। मंगलबार एक अंकले बढे पनि नेप्से पछिल्लो २४ दिनको न्यून विन्दुमै छ।
यस अवधिमा लगानीकर्ताले पनि कारोबारलाई बढाउन सकेका छैनन्। नयाँ गभर्नर आएसँगै नयाँ नीति लिने हुनाले लगानीकर्ता यतिबेला ‘पर्ख र हेर’को अवस्थामा छन्। लगानीकर्ताले गएको २४ कारोबार दिनमा दैनिक अधिकतम १० अर्ब ८७ करोडको कारोबार गरेका छन् भने न्यूनतम ४ अर्ब ४८ करोडको कारोबार गरेका छन्।
गत फागुन १९ गते नेप्से २९२९ अंकमा पुग्दै गर्दा सो दिन लगानीकर्ताले १४ अर्ब २८ करोड रुपैयाँको कारोबार गरेका थिए। चैत १३ गते २५७९ अंकमा नेप्से ओर्लिँदा उनीहरुले ४ अर्ब २० करोडको कारोबार गरेका थिए।
२५ सयबाट माथि जान नेप्सेलाई टेवा बनेको ‘गभर्नर नियुक्तिको सूचना’ले पनि धेरै दिनसम्म बजारलाई उकालो गति दिएन। त्यसपछि २७४१ अंकसम्म पुगे पनि त्यसभन्दा माथि नेप्से जानै सकेन। बरु ओर्लिएर २६ सयमा आइपुग्यो।
गभर्नर नियुक्तिले नै अलमलमा पारेको सेयरबजारमा अहिले फेरि नकारात्मक प्रभाव पार्ने बोर्डभित्रको कमिसनको अर्को सूचना बाहिरिएको छ।
लामो समयदेखि आईपीओ कुरिरहेका लगानीकर्ताहरुमा नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नै निष्काशनलाई प्राथमिकतामा नराखेको मात्र होइन, स्वीकृतिका लागि कमिसन मागेको विषय बाहिरिएको हो।
अध्यक्ष श्रेष्ठले आईपीओ निष्काशनको स्वीकृति रोकेर त्यसका लागि बिचौलियामार्फत् जलविद्युत कम्पनीहरूबाट ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको भन्दै उर्जा उत्पादकहरू आक्रोशित भएका छन्। उर्जा उत्पादहरूको मंगलबार काठमाडौँमा भएको र्बैठकले अध्यक्ष श्रेष्ठसँग भेटेर छलपफल गर्ने र त्यसबाट पनि समाधान नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने रणनीति बनाएका छन्।
बोर्डले मंगलबार त्यसको खण्डन गर्न खोजेपनि त्यसले बजारलाई थप नकारात्मक प्रभाव पार्ने निश्चित देखिन्छ।
बजार नियमनको जिम्मा लिएको बोर्डको नेतृत्वबाट कमिसनबाजी भएको सूचनाले दोस्रो बजारलाई थप कमजोर बनाउन सक्ने देखिन्छ।
Shares

प्रतिक्रिया