भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सबै क्षेत्रलाई गति दिएको बताएका छन्।
आइतबार काठमाडौंको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठबन्धनमा रहेका दलहरुबीचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताएका हुन्।
स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहालसमक्ष माग गरेका थिए। त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरु विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ति सवै निकायहरुबीच समन्वय गरी जनअपेक्षा पूरा गरिने बताए।
अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरुको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याइरहेको उनले जनाए।
सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामीण क्षेत्रमा स्वरोजगारी र उद्यमशीलताको विकास भइरहेको पनि मन्त्री दाहालले बताए।
देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको उनको भनाइ छ। वर्षायाम सुरु हुनै लागेकाले निर्माणाधीन सडकहरुमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरुलाई निर्देशन पनि दिए।
सडक निरीक्षण टोलीमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी, इन्जिनियर प्रमोद खतिवडालगायतका कर्मचारी तथा प्राविधिकहरु सहभागी थिए।
मन्त्री दाहाल शिवमन्दिर त्रिवेणीचोक राष्ट्रिय सहिदपार्क उपभोक्ता समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पनि सहभागी भए। सो कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई, प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, प्रदेश सभा सदस्य जयराम थापा लगायतको उपस्थिति थियो ।
Shares

प्रतिक्रिया