कारोबार


अवैध व्यापार र राजस्व चुहावट रोक्न नेपाल र भारतबीच महानिर्देशकस्तरीय वार्ता

यी विषयहरूमा हुँदै छन् छलफल
अवैध व्यापार र राजस्व चुहावट रोक्न नेपाल र भारतबीच महानिर्देशकस्तरीय वार्ता

नेपालखबर
चैत २८, २०८१ बिहिबार ११:४५, काठमाडौँ

नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा वार्ता सुरु भएको छ। 

वार्तामा दुई देशका भन्सार कार्यालयहरूबीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालवाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गर्ने, आयात-निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाइन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए।

छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी-दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाइन्ट)लाई लक्षित समयसीमाभित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्नेलगायतका विषयमा समेत छलफल हुनेछ।

चैत २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका छन्। 

नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाइन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता छ।

यसैगरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय इकाइका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad