ad ad

कारोबार


अलपत्र अष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नी उड्ने

अलपत्र अष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नी उड्ने

नेपालखबर
चैत १६, २०७६ आइतबार १२:६,

अष्ट्रेलियाका नागरिक बोकेर नेपाल एयरलाइन्सको जहाजले सिड्नी उडान गर्ने भएको छ। नेपालमा लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलियाका नागरिकलाई नेपाल एयरलाइन्समार्फत उद्दार गर्न लागिएको हो।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पेटे बुडले ट्वीट् गर्दै भनेका छन्, ‘चितवन र पोखरामा भएका नागरिकलाई काठमाडौं ल्याउने प्रयास गर्दैछौं। नेपाल एयरलाइन्सको व्यवसायिक उडान अप्रिल १ मा गर्ने सल्लाह भएको छ।’

उनले २२० सिट बुक भैसकेको भन्दै बाँकी ५४ सिट रहेको बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अष्ट्रेलियन राजदूतावासले नेपाल एयरलाइन्स मार्फत आफ्नो देशका नागरिक फिर्ता लैजाने प्रस्ताव गरेको बताए।

‘अष्ट्रेलिया दूतावासले काठमाडौं–सिड्नी सिधा उडानको लागि अनुमति माग गरेको छ,’ महानिर्देशक पोखरेलले नेपालखबरसँग कुरा गर्दै भने ‘नेपाल एयरलाइन्सको सिधा उडान सिड्नीमा नभएकाले रुट अनुमति लिनु पर्छ।’

गत असोजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अष्ट्रेलिया भ्रमणको बेला दुई देशबीच सिधा उडान गर्ने सहमति भएको थियो। जसमा नेपाली एयरलाइन्सहरुले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको थियो।

यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने सम्झौता भएको छ।

समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .