सरकारले संक्रमित रोगको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) एक लाख थानभन्दा धेरै ल्याउने भएको छ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ती सामग्री लिन भोलि शनिबार चीनको ग्वान्झाउ जानलागेको हो। पीपीईबाहेक कोरोना भाइरस (कोडिभ १९) को परीक्षणका लागि आवश्यक पर्ने ५० हजार किट समेत ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भाइरस महामारीको रुपमा फैलिएको अवस्थामा तत्काल परीक्षण गर्न मिल्ने किटसहित कम्तीमा ३० प्रकारको सामग्री ल्याइन लागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्। ती सामग्रीहरु ल्याउन शनिबार निगमको जहाज चीनको ग्वान्झाउ जाने स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए। नेपाल वायुसेवा निगमले उक्त सामग्री ल्याउन वाइडबडी जहाज चीन पठाउनलागेको बताइसकेको छ।
सचिव यादवले नेपालखबरसँग भने, ‘यी सामग्रीहरु आइतबार बिहान नेपाल आइपुग्छन्, त्यसपछि वितरणको काम गर्छौँ।’
उनका अनुसार सरकार–सरकार अर्थात् जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको थियो। तर प्रक्रिया लामो र झन्झटिले हुने भएपछि ढिलो हुने देखेर निजी क्षेत्रबाट ल्याउनलागिएको छ।
उक्त सामग्रीहरु वितरणका लागि भने नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिने सरकारी तयारी छ। स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको रेखदेखमा खरिदप्रक्रिया अघि बढेको हो।
श्रेष्ठले नेपाल सरकारले जीटुजीमार्फत खरिद गर्न खोजे पनि चीन सरकारको अहिलेको कम प्राथमिकतामा नेपाल रहेकोले नेपाललाई अत्यावश्यक सामग्रीहरु निजी क्षेत्रबाट खरिद गर्न लागेको बताए।
डा. सीमा सिटौला निर्देशक रहेको ओबीसीआई नामको कम्पनीमार्फत सरकारले मेडिकल सामग्री किन्न लागेको हो।
‘चीनको कम प्राथमिकतामा नेपाल’
‘हामीले जीटुजीबाटै खरिद गर्ने प्रस्ताव पठाएको हौँ। चीनमा अहिले कम्तीमा ६० वटा देशले स्वास्थ्य सामग्री खरिद गर्न खोजेका छन्’, महानिर्देशक श्रेष्ठले भने, ‘स्पेन, इटलीजस्ता महामारी फैलिएका अन्य देश चीनका प्राथमिकतामाछन्। उनीहरुको प्राथमिकतामा हामी केही तल रहेका छौँ, त्यसैले तत्काल आवश्यक रहेको सामग्रीहरु निजी क्षेत्रबाट किन्न लागेका हौं ।’
के-के आउँदै छन् चीनबाट?
महानिर्देशक श्रेष्ठका अनुसार एक लाख थानभन्दा बढी पीपीई, ५० हजार टेष्ट किट र तत्काल जाँच गर्न मिल्ने किटहरु नेपाल आउँदै छन्।
चिकित्सकहरुले पीपीई अभावमा कोरोना भाइरसका संक्रमितलाई उपचार गर्न नसकिने बताउँदै आएका छन्। सोही कारण सरकारले पनि पीपीई धेरै मात्रामा ल्याउन लागेको हो।
केही दिनअघि बसेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले निजी क्षेत्रलाई निश्चित समयभित्र सामग्री ल्याउन आह्वान गर्ने निर्णय गरेको थियो।
सो बैठकले सामग्री ढुवानी गर्न समस्या भए सरकारले आफैँ ढुवानी गर्ने गरी व्यवस्थापन मिलाउने निर्णय गरेको थियो।
तर सरकारी स्तरबाट ल्याउन लागेको स्वास्थ्य उपकरणसहितका सामग्री ल्याउनका लागि भने अझै केही दिन लाग्ने देखिएको छ।
नेपाल सरकारले मोवाइल प्रयोगशालासहित विभिन्न सामग्रीहरु उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो। चीन सरकारले ती सामग्रीहरु चीनको छेन्दु हुँदै काठमाडौं ल्याउने तयारी गरेको छ।
त्यसैगरी चिनियाँ अर्बपति ज्याक माले पठाउने सामग्री पनि छेन्दुमा संकलन भइरहेको श्रेष्ठले जानकारी दिए।
‘विभिन्न स्थानबाट सामग्री छेन्दुमा जम्मा गरेर ल्याइनेछ’, उनले भने।
यो पनि :
- चीनमा तयार परीक्षण किट नेपाल ल्याउने माध्यम नपाएको विनोद चौधरीको गुनासो
- नेपालले किनेको चिकित्सा सामग्री लिन निगमको वाइडबडी शनिबार ग्वान्झाउ जाने

प्रतिक्रिया