ad ad

कारोबार


खाद्यान्न पसल समेत बन्द हुँदा बजारमा अन्योल, प्रहरी भन्छः दोकान खोलेर लकडाउन हुँदैन

खाद्यान्न पसल समेत बन्द हुँदा बजारमा अन्योल, प्रहरी भन्छः दोकान खोलेर लकडाउन हुँदैन

सन्तोष न्यौपाने
चैत ११, २०७६ मंगलबार १०:५७,

काठमाडौंमा कोरोना भाइरस संक्रमित एक जना थप बिरामी भेटिएपछि सोमबार बेलुका सरकारले देश नै लकडाउन गर्ने निर्णय गर्‍यो।

उक्त निर्णयसँगै औषधि पसल, खाद्य पसल, पानी, दूधजस्ता अत्यावश्यक वस्तुमा भने यो नियम लागू नहुने घोषणा गर्‍यो।

मंगलबार बिहान देश लकडाउनमा गइसकेको थियो। अधिकांश पसल बन्दा हुँदा केही खाद्यान्न पसल खोलिएका थिए। तर, केही समयमै प्रहरीले ती पसल पनि बन्द गर्न उर्दी जारी गर्दै हिँडे।

‘खाद्यान्न भए पनि पसल खुलाउन पाउनुहुन्न’, तीनकुनेमा किराना पसल गरेका एक व्यापारीलाई प्रहरीले चर्को स्वरमा भने।

‘खाद्यान्न त खोल्न पाउने भनेको छ त सरकारले, विज्ञप्ति देखाइदिऊँ’, ती व्यापारीले पनि जवाफ फर्काए।

‘जान्ने हुनुहुन्छ। तपाईंले बन्द नगरिदिए हामीले ताला लगाइदिन्छौं’, प्रहरीले धम्क्याए।

मुुलुकमा जारी लकडाउनको पहिलो दिन काठमाडौंमा देखिएको यस्तो अन्योल देशैभर छ। खाद्यान्न पसल खोल्ने कि बन्द गर्ने?

एकातिर सरकारले खाद्यान्नजस्ता अति आवश्यक पसल खोलिने भनेको छ, अर्कोतिर प्रहरीले बन्द गराउँदै हिँडेको छ।

उपभोक्ता पनि दैनिक उपभोग्य सामान नपाएको गुनासो गरिरहेका छन्।

नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भने दैनिक उपभोग्य सामानको अभाव हुन नदिन खाद्य पसल खोल्न दिने निर्णय भएको एक सदस्य बताउँछन्।

‘समितिले स्पष्ट रुपमा खाद्यलगायतका पसल खुल्न दिने, खाद्यान्न ढुवानीलाई पनि नरोक्ने भन्ने निर्णय भएको हो’, उच्चस्तरीय समन्वय समितिमा रहेका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले भने, ‘त्यो सन्देश प्रहरीको तल्लो तहसम्म नपुगेको देखियो।’

प्रहरीको माथिल्लो तहबाट राम्रोसँग सर्कुलर जारी नगरेजस्तो देखिएको र दैनिक उपभोग्य सामानमा रोक लगाइएको पाइएको उनले बताए।

‘कतिपय ठाउँमा अति आवश्यक सामग्री बोकेको गाडी र खाद्यान्न पसललाई रोक लगाएको मैले पनि जानकारी पाएको छु’, उनले भने, ‘तर, सरकारको यस्तो निर्णय होइन।’

उता प्रहरीले भने लकडाउन भन्ने तर अति आवश्यक भनेर पसल खुला गर्न नहुने बताउँछ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा खाद्यान्नको नाममा पसल खुला गर्न दिन नहुने बताउँछन्।

‘हामीले अति आवश्यक सामग्रीका खाद्यान्न पसललाई बन्द गराउने भनेका छैनौं’, प्रवक्ता थापाले भने, ‘नमिठो लाग्ला खाद्यान्नका नाममा अन्य वस्तुको किनबेच धेरै हुन्छ।’

खाद्यान्न पसलले चामलदेखि रक्सीसम्म एकै ठाउँ बिक्री गरिरहेकाले त्यस्ता पसललाई खुला गर्न नसकिने उनेको भनाइ छ।

‘सबै पसल खुला गरेर लकडाउन हुँदैन,’ डीआईजी थापाले भने, ‘यो जनताकै सुरक्षाको लागि हो। सबै पसल खुला गर्न दिने हो भने कसरी लकडाउन भन्ने?’

एउटा चाउचाउ किन्न पनि पाइएन भनेर हिँड्न नहुने भन्दै उनले लकडाउनको हल्ला एक्कासि नआएकाले उपभोक्ता पनि पहिले नै सचेत हुनुपर्नेमा जोड दिए।

लकडाउनमा पनि पसल खुल्ने कि खुल्ने भन्ने विषयमा स्पष्ट नभएकाले यसमा थप गृहकार्य गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .