उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मंगलबारबाट मन्त्रालयको काम सुरु गरेका छन्।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेलले क्वार्टरबाटै नियमित काम सुरु गरेका हुन्।
उद्घाटका क्रममा घाइते भएका मन्त्री पौडेललाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौंमा ल्याइएको थियो। कीर्तिपुर बर्न हस्पिटलमा उपचारपछि सोमबार उनी डिस्चार्ज भएका थिए।
‘मन्त्रालयको कुनै पनि काम मन्त्रीको कारणले अब रोकिँदैन’, मन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालयमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट छलफल गरी अब मन्त्रालयका काम नियमित रुपमा हुन्छन्।’
मंगलबार नै अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भएकोमा अर्थमन्त्री पौडेलले आयोजनाहरु पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्।
‘मन्त्रीज्यूलाई बोल्न कुनै समस्या छैन। फोन वा भर्चुल माध्यमबाट पनि छलफल गरी टुंग्याउनुहुन्छ’, ती सदस्यले भने, ‘डाक्टरहरुले भेटघाट घटाउन र घाममा नबस्न आग्रह गरेका छन्। यो अवधिभर मन्त्रीको हस्ताक्षरको कारणले काम रोकिँदैन।’
डाक्टरले ‘अब्जर्भेसन’मै राखेकाले केही समय घर (क्वार्टर)बाटै काम गर्ने सचिवलायले जनाएको छ।
मन्त्रालयका अनुसार २६ वटा आयोजना १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन्। सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना छन्।
त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।
Shares

प्रतिक्रिया