कारोबार


नवलपरासीका किसानको भरोसा जित्दै सांसद चौधरी

उखु किसानको समस्या समाधान, अब केरा उद्योग स्थापनातर्फ ध्यान
नवलपरासीका किसानको भरोसा जित्दै सांसद चौधरी

नेपालखबर
पुस २९, २०८१ सोमबार १४:१२, नवलपरासी(पश्चिम)

पश्चिम नवलपरासीका किसानले सांसद विनोद चौधरीले किसानको हितमा मरिमेटेर काम गरिरहेको बताएका छन्। यहाँबाट निर्वाचित सांसदले संसद् र सिंहदरबारसम्म पुगेर किसानका पक्षमा आवाज उठाउदै आएको र त्यसको परिणाम समेत नवलपरासीका किसानले पाएको उनीहरूले बताएका हुन्।

‘हामी सधै उखुको भुक्तानी नपाएर तड्पिरहेका थियौँ। सांसद चौधरीले कृषि मन्त्रालयमा पुगेर किसानलाई समयमै भुक्तानी गर्न ताकेता गर्नुभयो। देशभरमा सबैभन्दा पहिले नवलपरासीका किसानले उखुको भुक्तानी पायौँ’, प्रतापपुर–९ का उखु किसान रिङ्कु गुप्ताले भने, ‘यसअघि हाम्रो आवाज सिंहदरबारमा पुर्‍याइदिने सांसद हामीले पाएका थिएनौँ।’

२०७९ मा प्रतिनिधिसभामा निर्वाचित भए लगत्तै सांसद चौधरीले उखुको समयमै मूल्य निर्धारण गर्न र भुक्तानी गर्न संसद्‍मा आवाज उठाउनुका साथै कृषि तथा सहकारी मन्त्रालयमा दबाब दिएका थिए। जसको परिणाम स्वरुप पश्चिम नवलपरासी र देशभरका उखु किसानले राहत पाएका थिए।

‘उहाँ बारम्बार जिल्ला आउनुहुन्छ र यहाँ आएको बेला किसानका घर घरमा पुगेर समस्याप्रति चासो राख्ने मात्रै होइन व्यवहारिक रुपमा हाम्रा समस्या समाधान गर्दै आउनु भएको छ’, सुस्ता–४ का किसान नविनकुमार उपाध्यायले भने, ‘गत असोजको बाढी आउँदा अरु नेताको अनुहार देख्न पाइएन तर उहाँ हाम्रा डुबानमा परेका घरहरूमा आउनु भएको थियो। यसरी उहाँले नवलपरासीका किसानका लागि सच्चा अभिभावकको भूमिका निर्वाह गर्दै आउनु भएको छ।’

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधारहरुको विकास र किसानका समस्यालाई आफ्नो राजनीतिक एजेण्डा बनाउँदै आएका छन्। ‘उहाँ निर्वाचित भएपछि पश्चिम नवलपरासीमा पहिलेभन्दा रासायनिक मलको अभावबाट मुक्ति दिलाउनु भएको छ। जिल्लाका लागि रासायनिक मलको कोटा बृद्धि र व्यवस्थित वितरणका लागि उहाँले पहल गर्दै आउनु भएको हामीलाई राम्रो जानकारी छ’, सुस्ताका अर्का किसान सविन अन्सारीले भने, ‘उहाँको काम गर्ने तरिका नै बेग्लै रहेछ। अरु नेताले गफ गर्थे तर उहाँलाई काम गरेरै देखाउनपर्ने रहेछ। सायद उद्योगपति पनि भएर पनि होला उहाँ परिणाममुखी काम गर्नुहुन्छ। त्यसको फाईदा हामी किसानलाई मिलेको छ।’

सांसद चौधरीले जिल्लाका केरा किसानका लागि केरा उद्योग स्थापनातर्फ पनि काम अगाडि बढाएका छन्। तर, केही प्राविधिक कारणले मात्रै यसमा केही ढिलाइ भएको बताइएको छ।

‘यहाँ उत्पादित केराको गुणस्तर जाँच गर्दा चिप्स उत्पादनका लागि जुन गुणस्तर हुनुपर्ने हो, यहाँको केरामा कम छ। मिठास पनि कम पाइएको छ। केराको साइज पनि एक नासको छैन,’ सांसद चौधरीकोतर्फबाट केरा उद्योग स्थापनाको जिम्मेवारी पाएका बरिष्ठ इन्जिनियर एम एस ज्ञवालीले भने, ‘स्थानीय केराको परीक्षण गर्दा चिप्सका लागि उपयुक्त पाइएन। त्यसका लागि नयाँ जातको केरा आवश्यक हुन्छ। यहाँको केरोको दीर्घकालीन गुणस्तर सुधारका लागि अहिले हामी काम गरिरहेका छौँ।’

त्यसका लागि भारतको केरलाबाट दुई साताभित्र केरा बिशेषज्ञ नवलपरासी आउने र अनुसन्धान गर्ने उनले बताए। ‘केरा उत्पादनका लागि लगानीको पक्षमा केही पनि समस्या छैन। हामी सम्पूर्ण रुपमा तयार अवस्थामा छौँ। तर, कच्चा पदार्थको गुणस्तरमा देखिएको समस्याका कारण विलम्ब भईरहेको छ। हामी यो समस्या समाधानमा नै अहिले केन्द्रित बनिरहेका छौँ।’  

केरा उद्योगका लागि सुस्ता गाउँपालिका- ३ रेवारेतामा जग्गा खरिद गरिसकिएको छ। उद्योगको डिजाइन तयार हुनुका साथै मेसिन खरिद प्रक्रिया समेत अगाडि बढिसकेको बरिष्ठ इञ्जिनियर ज्ञवालीले जानकारी दिए। 

‘उद्योगका लागि साढे दुई विघा जग्गा खरिद गरिसकेका छौँ। डिजाइन तयार छ। मेसिन  खरिदको काम पनि अगाडि बढिसकेको छ,’ इञ्जिनियर ज्ञवालीले भने, ‘कुनै पनि उद्योग स्थापना हुदा मेसिन ल्याएर मात्रै हुदैन, किसानलाई दीर्घकालीन फाइदा पुग्नेगरि योजना बनाउनुपर्छ। हामी त्यसकै लागि जुटिरहेका छौँ।’

स्थानीय किसान लालबहादुर गुरुङले केरा उद्योग स्थापनाका लागि सांसद चौधरीले पहल गरिरहेको बारेमा आफू जानकार रहेको बताए। उनले भने, ‘सांसद चौधरीले सुरुदेखि नै केरा उद्योग स्थापनाका लागि पहल गरिरहनुभएको छ। उद्योगका लागि लगानी गरिसक्नु भएको छ। प्राविधिक रुपमा सबै तयारी अगाडि बढेको छ। तर मुख्य कुरा हाम्रो केराको गुणस्तरमा समस्या भएर ढिलाइ भएको मैले पाएको छुँ। गुणस्तरीय केरा उत्पादनका लागि पनि उन्नत बीउ ल्याउने कुरा भइरहेको छ। यसले यहाँका किसानका लागि दिर्घकालिन रुपमा फाइदा पुग्नेछ।’ 

सुस्ता-४, नरसहिका अर्का केरा किसान सुरेन्द्र केवटले नवलपरासीका किसानको भरोसा सांसद विनोद चौधरी रहेको बताए। ‘उहाँले हाम्रो जीवनस्तरलाई माथि उठाउन हरदम कोसिस गरिरहनु भएको छ। जिल्ला आउँदा केरा किसानको बारेमा बारम्बार चासो राख्नुहुन्छ,’ उनले भने, ‘तीन दशकसम्म हाम्रो बारेमा चासो नराख्नेहरु अहिले उहाँले चुनाव जितेको एकाध बर्षमै सबै कुरा भएन भनेर राजनीति गरिरहेका छन्। यस्तो प्रवृत्तिलाई यहाँका किसानले राम्रोसँग चिनेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad