उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफूले लिने बताएका छन्।
बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताएका हुन्।
मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत बताए।
उनले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन। राज्यले अभाव हुन दिन्न। विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ।’
मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गरेका छन्।
कन्ज्युमर आइका महासचिव राजन खनालले खानेपानी संस्थानले दिने खानेपानीले हात धुँदा रोग सर्दैन भन्ने ग्यारेण्टी गर्नुपर्ने बताए।
‘हाम्रो धारामा आएको खानेपानीले हात धुँदा हामी सुरक्षित हुन्छौँ भन्ने ग्यारेण्टी कसैले गर्न सक्छ?’, उनले प्रश्न गरे। महासचिव खनालले पिक आवरमा सार्वजनिक यातायात चढेर यात्रा गर्न सरकारी अधिकारीहरुलाई चुनौती पनि दिए।
कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरुमा मारमा परेको बताएका थिए। खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए। बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उनले बताए।
कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी प्रभाव नेपालमा पनि परेको छ। नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेको छन्। मन्त्रालयले भने बजार अनुमगन र कारबाहीलाई प्राथमिकता दिएको बताउँदै आएको छ।
Shares

प्रतिक्रिया