नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा व्यवसायी दीपक मल्होत्राले शनिबारदेखि दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन गर्न लागेका हुन्।
शनिबारदेखि दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्ने तयारी भइरहेको चेम्बरका उपाध्यक्ष समेत रहेका मल्होत्राले बताए। ‘हाम्रो लक्ष्य शनिबारदेखि मास्क उत्पादन गर्ने छ’, मल्होत्राले भने, ‘आइतबारदेखि बजारमा मास्क उपलब्ध हुन्छ।’
मास्क उत्पादन गर्ने उक्त मेसिन बुधबार बेलुकासम्म काठमाडौंमा आइपुग्ने उनले बताए। भारतको चेन्नाईबाट लोड गरिएको उक्त मेसिन मंगलबार बेलुकासम्म सुनौलीमा आइपुग्नेछ।
बिहीबार र शुक्रबार मेसिन जडान गर्ने र शनिबारदेखि उत्पादन सुरु गर्ने तयारी छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि आइतबारदेखि बजारमा पर्याप्त मास्क उपलब्ध हुने बताए।
‘आइतबारदेखि बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुनेछ’, श्रेष्ठले भने, ‘अब मास्क नपाएर आत्तिनुपर्दैन।’
उक्त मास्कको मूल्य ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म पर्नेछ। मल्होत्राका अनुसार मास्कको मूल्य २ वटा राख्ने तयारी छ। उक्त मेसिनबाट उत्पादिन मास्कको परल मूल्य मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ७ रुपैयाँ पर्नेछ। त्यही मास्कलाई ५ रुपैयाँमा बेच्ने तयारी भएको मल्होत्राले बताए।
‘ग्राहकलाई २ रुपैयाँ अनुदान दिएर मास्क बेच्ने तयारी गरिरहेका छौँ’, मल्होत्राले भने, ‘५ रुपैयाँमा बेच्दा २ रुपैयाँ अनुदान हामीले व्यहोर्नेछौँ।’
भारतको चेन्नईबाट ल्याउन लागिएको उक्त अटोमेटिक मेसिनको मूल्य भन्सारबाहेक झण्डै ५० लाख रुपैयाँ परेको छ। उक्त मेसिनसँगै कानमा लगाउने क्लिप र नोट पिन पनि आउँदै छ। मास्कलाई चाहिने अन्य आवश्यक सामग्री नेपालमै उपलब्ध छन्।
उक्त मेसिनलाई काठमाडौं लुबुमा रहेको एक गार्मेन्ट फ्याक्ट्रीमा राखिनेछ। उक्त फ्याक्ट्रीसँगको सहकार्यमा मास्क उत्पादन हुनेछ। गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारले नै मास्क उत्पादन गर्नेछन्।
मास्क उत्पादन गर्ने मेसिन खरिदमा सरकारले भन्सार छुटलगायतका सुविधा दिने प्रस्ताव गरे पनि उक्त सुविधा नलिएको मल्होत्राले बताए।
‘भन्सारले छुट लिनेबित्तिकै नकारात्मक हल्ला हुनसक्छ्’, मल्होत्राले भने, ‘सरकारले दिन्छु भनेको थियो तर हामीले लिएनौँ।’
चेम्बरले केही समयअघि कोरोना भाइरस नियन्त्रणसम्बन्धी एक सहजीकरण समिति बनाएको थियो। उक्त समितिको संयोजक मल्होत्रा हुन्।
चेम्बरले कारोना भाइरस नियन्त्रण गर्न र खाद्यान्न अभाव हुन नदिन योजनासहित उक्त मेसिन ल्याउने निर्णय गरेको थियो। चेम्बरको सहयोगमा ल्याइएको उक्त मेसिनमा भने मल्होत्राको लगानी गरेका छन्।
‘लगानी ठूलो नभएकाले मैले व्यक्तिगत लगानी गरेको हुँ’, मल्होत्राले भने, ‘यसमा ठूलो सहयोग र नेतृत्व चेम्बरको छ।’
मास्क उत्पादन भएपछि वितरणको लागि काठमाडौंलगायतका चेम्बरका प्रत्येक जिल्ला शाखामा मास्क पठाइनेछ। मास्क वितरणमा चेम्बरको ठूलो भूमिका हुने मल्होत्राले बताए।
कोरोना भाइरस नियन्त्रण र त्यसबाट बच्न मास्कको मुख्य भूमिका हुने भएपछि बजारमा यसको अभाव हुन थालेको थियो। कतिपय व्यवसायीले कालोबजारी गरेर मास्क लुकाउन थालेपछि उक्त समस्या समाधान गर्न मास्क उत्पादन गर्न लागिएको मल्होत्राले दाबी गरे।

प्रतिक्रिया