कारोबार


गभर्नर भन्छन्– राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै हो

गभर्नर भन्छन्– राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै हो

नेपालखबर
पुस ३, २०८१ बुधबार १९:५२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै भएको बताएका छन्।

नेपाल बैंकर्स संघको साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकारीकै सामु गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘नेपाल राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै हो। आफ्नो क्षमताअनुसार दिने हो।’

बैंकिङ क्षेत्रमा धेरै उतारचढावका बीच पनि राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्न सकेको उनको भनाइ थियो।

केही बाह्य कारणले बैंकिङ क्षेत्रमा असर परिरहेको उनले बताए।

‘यतिधेरै उतारचढाव को समयमा पनि हामीले वित्तीय स्थायित्व कायम गर्न सकेको छौँ। तर अहिले केही बाह्य कारणले बैंकमा असर परिरहेको छ, अर्थतन्त्रको कारण।’

कार्यक्रममा उनले प्रशस्त तरलता रहेको र वित्तीय सूचक पनि राम्रो रहेकाले डर मान्नुपर्ने नरहेको बताए।

पछिल्लो समय बढिरहेको खराब कर्जाप्रति उनले चिन्ता व्यक्त गरे। यसका लागि कर्जा असुलीमा ध्यान दिन बैंकहरुलाई संकेत गरे। राष्ट्र बैंकले पनि यसलाई सुधार्न काम गरिरहेको उनको भनाइ छ।

खासगरी बैंकिङ प्रणालीमा बाहिरी थ्रेट आइरहेको उनको भनाइ छ।

‘ऋण नतिर्ने बैंकले नाफा कमायो भनेर गलत व्याख्या गर्दै बैंकविरोधी आवाज उठ्न थालेपछि कर्जा असुलीमा समस्या देखियो’ उनले थपे।

राष्ट्र बैंकले ल्याउने नीतिहरुका कारण समस्या नहुने बताए।

उनले भने, ‘नीति सधैँ उस्तै रहन सक्दैन। नीतिको फेरबदली भइरहँदा समस्या भयो भन्नु गलत हो। समय, अर्थतन्त्र र कर्जाको अवस्था हेरेर नीति परिवर्तन भइरहनुपर्छ। यसलाई गलत व्याख्या गर्नुहुन्न।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad