तीन वर्षको घाटापछि चिनियाँ अर्बपतिहरूको सम्पत्ति फेरि बढ्न थालेको छ। रियल स्टेट क्षेत्रमा आएको संकट र सी चिनफिङको साझा समृद्धिको नाराका कारण २०२० यता उनीहरू घाटामा जान थालेका थिए।
ब्लुमबर्गका अनुसार चीनका सबैभन्दा धनी ५५ जनाको सम्पत्तिमा यो वर्षको जनवरीयता १६ प्रतिशतले बढेको छ। उनीहरू सबैको जम्मा सम्पत्ति ८०९ अर्ब पुगेको छ।
यसको अगुवाइ प्रविधिसम्बन्धी कम्पनीका मालिकहरूले गरिरहेका छन्। यो वर्ष सबैभन्दा बढी फलिफाप टेन्सेन्ट होल्डिङ्स लिमिटेडका पोनी माको भएको छ। उनको सम्पत्ति झण्डै एक तिहाइ बढेर ४७.९ अर्ब डलर पुगेको छ।
उनीपछि स्मार्टफोन निर्माता स्याओमीका संस्थापक लेइ चुनको सम्पत्तिमा १२.८ अर्ब डलर वृद्धि भएको छ।
चीनले केही वर्षयता अलीबाबा, डिडी ग्लोबलसहितका प्रविधि कम्पनी र तिनका धनाढ्य मालिकहरूमाथि लगाम कसेको छ। सो कडाइले निजी क्षेत्रमा लगानीकर्ताको मनोबल गिरेको थियो।
एआई प्रोसेसर निर्माता क्याब्रिकन टेक्नोलोजिज्का अध्यक्ष चेन तियान्सी र खेलौना निर्माता पप मार्टका वाङ निङको सम्पत्ति यो वर्ष बढेर तीन गुणा भएको छ।
यो वर्ष चीनमा सबैभन्दा धनी व्यक्तिको ताज नै धेरै जनाको शिरमा सरेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया