कारोबार


स्काउटले जग्गाभाडामा ताकिता गरेपछि ऊर्जामन्त्रीको दाबी- खड्काल्यान्डको विवाद मसँग जोडिएको छैन

स्काउटले जग्गाभाडामा ताकिता गरेपछि ऊर्जामन्त्रीको दाबी- खड्काल्यान्डको विवाद मसँग जोडिएको छैन

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १४:५९, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्यान्ड डेभलपमेन्टको विवाद कानुनी हिसावले आफूसँग नजोडिएको दाबी गरेका छन्।

नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट बीचको विवाद यति बेला उत्कर्षमा छ। मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको थियो।

तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले बताए। उनले पछिल्लो समय नियोजित रुपमा आफू संग्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरू आएको दाबी पनि गरे।

उनले स्काउटसँग जोडर आएका समाचार नियोजित भएको बताए। उनले आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरूले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरू आएको बताए।

मन्त्री खड्काले स्काउट ऋणमा पुगेपछि टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको बताए। उनले आफू कम्पनीमा हुँदा समेत भाडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गरे ।

उनले भने,‘स्काउटसँग मलाई जोडर समाचार आउनु नियोजित हो। केही गर्न खोज्दा मान्छेहरूलाई भुँडी पोल्ने भएको कारणले राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचारहरु आएका हुन्। स्काउट ऋणमा पुगेपछि मैले टेण्डर प्रक्रियाबाट भाडामा जग्गा लिएको हो। मैले प्रतिस्क्वायर फिट ४७ रुपैयाँ र महिनाको २५ लाख भाडा तिरेर बसेको हो। म स्काउटको जग्गा लिने कम्पनीमा म हुँदासम्म समस्या थिएन।’

उनले स्काउटले विद्युत लाइन काट्ने, गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताए।

कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको स्वीकार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad