कारोबार


कार्बनबाट हुने आम्दानी नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने निर्णय

कार्बनबाट हुने आम्दानी नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने निर्णय

फाइल तस्बिर: ऊर्जामन्त्री दीपक खड्का


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार ८:४१, काठमाडौँ

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बनबाट हुने आम्दानी (रकम) नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा बिहीबार साँझ बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला बायोग्यास, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए। 

यस्तै बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुर्व्यवहार  (निवारण) आचार संहिता, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृती प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

बैठकमा समितिका अध्यक्ष एवम् ऊर्जामन्त्री खड्काले स्वदेशमा विद्युत खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पूरा गर्न केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताएको बैठकमा सहभागी केन्द्रका नायब कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए। 

यस्तै बैठकले सन् २०२५ जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो। 

ऊर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपीजी ग्यास विस्थापनका लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad