कारोबार


१५ दिनको समय दिएर कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण (विवरणसहित)

१५ दिनको समय दिएर कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण (विवरणसहित)

कुलमान घिसिङ


नेपालखबर
असोज २३, २०८१ बुधबार १२:३३, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। 

मन्त्रालयले मंगलबार पत्र पठाउँदै १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। 

पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारसँग कार्यकारी निर्देशक घिसिङको द्वन्द्व चर्किँदै आएको छ। ट्रंकलाइन र डेडिकेटेड फिडरबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङविरुद्ध बोलेका थिए। 

संसदको सार्वजनिक लेखा समितिमा समेत बक्यौताको विषयभन्दा घिसिङको विषयमा बढी छलफल भएको थियो। समितिले पनि बक्यौताको विषयमा कुनै निर्णय दिन सकेन। यसले बक्यौता विवाद समाधानको साटो थप गिजोलिन पुगेको थियो। 

‘१५ बुँदे स्पष्टीकरण सोधिएको छ’, मन्त्रीनिकट एक अधिकारीले भने, ‘१५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।’

घिसिङसँग बक्यौता, विद्युत् उत्पादन र वितरण लगायतमा स्पष्ट पार्न भनिएको ती कर्मचारीको भनाइ छ।

१५ बुँदे स्पष्टीकरणमा ४ वर्ष अवधिमा बोर्ड बैठकले गरेका कर्मचारी सेवा शर्त, कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकार, छिमेकी मुलुकसँग गरिएको सम्झौता एवम् समझदारीको विवरण माग गरिएको छ।

‘डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको महशुल सम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवम् सो महशुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएको निर्णय’, मागिएको स्पष्टीकरणमा भनिएको छ, ‘४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणसम्बन्धी विवरण र खर्चको अवस्था।’

मंगलबार नै ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीले बुधबारको लागि बोर्ड बैठक डाकेका थिए। जब कि बोर्ड सदस्यसचिव तथा कार्यकारी निर्देशकले बैठक बोलाउने प्रचलन छ। तर बिहान मन्त्रीको कार्यव्यस्तता देखाउँदै बोर्ड बैठक स्थगित भएको छ। 

‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको भन्ने छ’, एक सञ्चालक समिति सदस्यले भने, ‘थप जानकारी छैन।’

ऊर्जा मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको बारे जानकारी नभएको बताए। 

‘उहाँलाई स्पष्टीकरण सोधिएको विषय मलाई जानकारी छैन’, मन्त्री तामाङले भने, ‘मन्त्री (दीपक खड्का)लाई नै थाहा होला।’

यस्ता छन् कुलमानलाई सोधिएका १५ बुँदा

  • नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु।
  • नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी)।
  • नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरुसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारीपत्रहरुको विवरण।
  • नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण। साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण।
  • नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण। 
  • नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरुबाट Power Evacuation पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरुको विवरण।
  • हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ति-१ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरु।
  • विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम, भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि)। साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था।
  • विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धी विवरण। ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण।
  • डेडिकेटेड फिडर/ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सज्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सज्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु।
  • नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्था सहित)
  • हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु/सामाग्रीहरुको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित)।
  • नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरुमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण।
  • महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याइएका बेरुजुमध्ये हालसम्म फछ्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण।
  • नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन्? उनीहरुको पद र योग्यता खुलेको विवरण।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad