कारोबार


अध्यादेशले पदमुक्त भएका धिताल नै फर्किए विद्युत् नियमन आयोगमा

अध्यादेशले पदमुक्त भएका धिताल नै फर्किए विद्युत् नियमन आयोगमा

नेपालखबर
साउन ७, २०८३ बिहिबार १४:२५, काठमाडौँ

विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। 

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि उनीसहित एक हजार ५३४ राजनीतिक नियुक्ति पाएकाहरू पदमुक्त भएका थिए। उनी ०८१ असारमा अध्यक्ष नियुक्त भएका थिए। 

धिताल ऊर्जा, विद्युत् नियमन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रका २५ वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ ऊर्जा विज्ञ, नीति निर्माता तथा व्यवस्थापक हुन्। उनले नेपाल, अफगानिस्तान, दक्षिण प्रशान्त महासागर क्षेत्रमा रहेको टापुहरुको देश भानुआतु र यमन लगायत विभिन्न देशहरूमा ऊर्जा नीति, विद्युत् नियमन, ग्रामीण विद्युतीकरण, जलविद्युत् विकास तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

उनी नेपाल विद्युत् नियमन आयोगको निवर्तमान अध्यक्षको रूपमा कार्यरत थिए। धितालले विद्युत् बजार सुधार, खुला पहुँच विद्युत् महसुल निर्धारण, प्रसारण शुल्क, ऊर्जा भण्डारण सम्बन्धी नियामकीय व्यवस्था, संस्थागत विकास तथा विद्युत् क्षेत्रको सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। 

उनीसँग आयोगको स्थापनाकालमा करिब २ वर्ष आयोगको सदस्यको हैसियतमा काम गरेको अनुभव पनि छ।

विगतमा नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको कार्यकारी निर्देशकको रूपमा ४ वर्ष कार्य गर्दा नेपालभर १० लाखभन्दा बढी घरधुरीसम्म नवीकरणीय ऊर्जा प्रविधिको पहुँच विस्तार तथा विभिन्न राष्ट्रिय ऊर्जा नीतिहरू निर्माण र कार्यान्वयनमा नेतृत्व प्रदान गरेका थिए।

उनले एशियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्राष्ट्रिय सौर गठबन्धन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूका लागि ऊर्जा नीति, विद्युत् नियमन, सीमापार विद्युत् व्यापार, परियोजना वित्त तथा संस्थागत सुदृढीकरण सम्बन्धी वरिष्ठ परामर्शदाताको रूपमा पनि काम गरेका छन्। 

उनी काठमाडौं विश्वविद्यालयमा अतिथि प्राध्यापक रहनुका साथै संसदको पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकार समेत भएका थिए। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह (१९९७) तथा जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङ विषयमा स्नातकोत्तर (२००२) उत्तीर्ण हुन्। 

धितालले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्यामपसबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङ्गमा सन् २०१९ विद्यावारिधि गरेका छन्। साथै, स्विडेनको लन्ड विश्वविद्यालयबाट दिगो विकासका लागि ऊर्जा र लगानीसम्बन्धी विषयको सैद्धान्तिक ज्ञानसमेत लिनुभएको छ। व्यावहारिक ज्ञानको सिलसिलामा उनले अन्तर्राष्ट्रिय संस्था एपीएमजी इन्टरनेसनलबाट निजी–सार्वजनिक साझेदारीसम्बन्धी विषयमा प्रमाणपत्रसमेत हासिल गरेका छन्। 

साथै, डेनमार्कबाट निजी–सार्वजनिक साझेदारी तथा नेतृत्व विकास, आयोजना व्यवस्थापन सम्बन्धी विषयमा प्रमाणपत्रसमेत हासिल गरेका छन्। यसका अतिरिक्त, उनले युरोपियन विश्वविद्यालय फ्लोरेन्स स्कुल अफ रेगुलेसन इटालीबाट विद्युत् प्रणालीको नियमन (५ महिना) तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट सेवा प्रदायकको नियमन तथा रणनीति (२ हप्ता) एवं सेवा प्रदायकको वित्त विश्लेषण (१ महिना) सम्बन्धी विषयमा तालिम लिई नियमनको क्षेत्रमा दक्षता हासिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad