ad ad

कारोबार


माथिल्लो कर्णालीमा जोडियो अर्को भारतीय सरकारी कम्पनी इरेडा, झण्डै ३ अर्ब भारु लगानी गर्ने

माथिल्लो कर्णालीमा जोडियो अर्को भारतीय सरकारी कम्पनी इरेडा, झण्डै ३ अर्ब भारु लगानी गर्ने

वसन्त अर्याल
साउन ४, २०८१ शुक्रबार १९:५१, काठमाडौँ

माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा अर्को भारतीय सरकारी कम्पनी पनि जोडिएको छ।

निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले लगानी जुटाउन नसक्दा अन्योल रहेको आयोजनामा भारतीय रिन्युएबल इनर्जी डेभपलपमेन्ट एजेन्सी लिमिटेड (इरेडा)ले करिब ३ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो। 

नेपाल सरकारले भारतीय जीएमआरलाई ९०० मेगावाटको आयोजना बनाउन १० वर्षअगाडि अर्थात् सन् २०१४ मै जिम्मा दिएको थियो। तर लगानी जुटाउन नसक्दा म्याद थप गर्दै आयोजना होल्ड हुँदै आएको छ। सर्वोच्च अदालतले लगानी सम्झौताका लागि अब एक पटक मात्रै म्याद थप गर्न परमादेश जारी गरिसकेको छ।  

नेपालले दिने अन्तिम म्यादभित्र समेत जीएमआरले आफैँले लगानी जुटाउन नसक्दा भारतीय सरकारी कम्पनी एसजेभीएन (सतलज)लाई सेयर बिक्री गरेको छ। जीएमआर र सतलजसँग सहकार्य गरी इरेडाले अपर कर्णालीमा २ अर्ब ९० करोड भारतीय रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। 

भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सले २९० करोड भारु अपर कर्णालीमा लगानी गर्न लागिएको उल्लेख गरेको छ। जीएमआर र अपर कर्णाली हाइड्रोपावर लिमिटेडको करिब १० प्रतिशत सेयर प्राप्ति गर्ने उल्लेख छ। 

जीएमआरले लगानी जुटाउन नसकिरहेको अवस्थामा भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेडले अपर कर्णालीमा लगानी गर्न जीएमआरसँग सम्झौता गरेको छ। रणनीतिक साझेदारीको रुपमा इरेडा भित्रिएको छ। 

‘नवीकरणीय ऊर्जा पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्यमा यो रणनीतिक लगानीको प्रतिबद्धताका रुपमा आएको छ’, आईआरईडीएका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिप कुमार दासले भनेका छन्, ‘नेपालमा हाइड्रोपावरको सम्भावना रहेकाले दिगो विकास र क्षेत्रीय ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान गर्न सक्छ।’

लामो समयदेखि चर्चामा रहेर निर्माणअघि बढ्न नसकेको इरेडा र एसजेभीएनको सहभागिताले आयोजना निर्माणतर्फ अघि बढ्ने अनुमान गरिएको छ। 

नेपाललाई जानकारीबिनै विदेशमा धमाधम जीएमआरको सेयर बिक्री 
सन् २०१४ मा ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा जीएमआर समूहलाई दिइएको थियो। त्यसपछि तीनपटक म्याद थपिइसकेको छ। 

२०७९ आसरमा म्याद थपको विषय विवाद भएपछि सर्वोच्चको संवैधानिक इजलासले जीएमआरलाई वित्तीय व्यवस्थापन गर्न अन्तिम पटक म्याद थप हुने भनेको छ। 

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले अपर कर्णालीको म्याद असार ३१ मा सकिए पनि अदालतको स्टे अर्डरका कारण ६ महिना होल्ड भएकाले त्यस अवधिको म्याद थपको प्रक्रिया अघि बढेको जानकारी दिए। 

‘अदालतको आदेशअनुसार नै पुनः म्याद थप गर्न नसक्ने अवस्था छ। तर अदालती काम कारबाहीमा ६ महिना रोकिएको अवधि थप गर्नसक्ने भनेको छ’, अधिकारीले भने, ‘मन्त्रिपरिषद्ले बढीमा माघ महिनासम्म अन्तिम म्याद थप गर्नसक्ने अवस्था छ।’

भारतमा एसजेभीएन होस् वा इरेडाले लगानी गर्ने विषयमा लगानी बोर्डलाई जानकारी छैन। 

लगानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर नविन थापाले अपर कर्णालीमा एसजेभीएनले लगानी गर्ने सुनिए पनि बोर्डमा म्याद थपको लागि मात्र जीएमआरले आवेदन दिएको बताए। 

‘लगानी बोर्डले ९०० मेगावाटको अपर कर्णाली बनाउने जिम्मा भारतको जीएमआर कम्पनीलाई दिएको हो’, सीडीई थापाले भने, ‘अरु कम्पनीको विषयमा बोर्डलाई जानकारी छैन।’

६ महिना म्याद थप गर्नको लागि बोर्डमा फाइल उठे पनि निर्णय हुन सकेको छैन। 

माथिल्लो कर्णालीको ७३ प्रतिशत सेयर जीएमआर र २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणसँग छ। विद्युत् प्राधिकरणसँग रहेको सेयर निःशुल्क पाउने हो। जीएमआरको ७३ प्रतिशत सेयरमध्ये आधा अर्थात् ३६ दशमलव ५ प्रतिशत सेयर सतलजले पाएको छ।

‘२७ प्रतिशत सेयर हिस्सा विद्युत् प्राधिकरणकै छ। तर सेयर खरिदबिक्रीको विषय हामीलाई आधिकारिक जानकारी छैन’, विद्युत् प्राधिकरणका निर्देशक नसिबमान प्रधानले भने। 

भारतको अर्थ मन्त्रालयअन्तर्गतको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागले सतलजलाई सेयर स्वीकृति अनुमति दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

सन् २०१४ मा गरिएको पीडीएअनुसार नेपाल विद्युत् प्राधिकरणले पाउने सेयर पनि निःशुल्क हुन्छ। एक दशकअघिको पीडीएमा आयोजना निर्माण लागत १ खर्ब १६ अर्ब रुपैयाँ पर्ने अनुमान पनि गरिएको थियो।

अपर कर्णालीबाट ५०० मेगावाट विद्युत् बंगलादेशले लैजाने समझदारी भइसकेको छ। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .