ad ad

कारोबार


सडक र ऊर्जा-सिँचाइका १३ गौरवका आयोजना : कुनको प्रगति कति?

सडक र ऊर्जा-सिँचाइका १३ गौरवका आयोजना : कुनको प्रगति कति?

सुनकोशी मरिन डाइभर्जन आयोजनाको सुरुङ ब्रेक थ्रुको क्रममा।


नेपालखबर
जेठ १३, २०८१ आइतबार १८:३२, काठमाडौँ

नेपाल सरकारले हालसम्म २४ वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरी कार्यान्वयनमा ल्याएको छ। यी आयोजनाहरू कार्यान्वयनका विभिन्न चरणमा छन्।  

आ.व. २०६८/६९ मा १७ वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको थियो।

त्यसपछि २०७०/७१ मा चार, २०७५/७६ मा एक, २०७६/७७ मा एक र २०७७/७८ मा एक आयोजना थपिएसँगै राष्ट्रिय गौरवका आयोजनाको संख्या २४ पुगेको छ। जसमा बूढीगण्डकी आयोजना, पश्चिम सेती,  निजगढ विमानस्थलको काम नै सुरु भएको छैन। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी र माथिल्लो तामाकोशीको काम सम्पन्न भइसकेका छन्। 

कुन आयोजनामा कति प्रगति?
मध्यपहाडी (पुष्पलाल) राजमार्ग

मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १,८७९ किलोमिटरमध्ये २०८० असारसम्म १,४०२ किलोमिटर कालोपत्रे भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म थप १३ किलोमिटर सडक कालोपत्रे भई १,४१५ किलोमिटर पुगेको छ। राजमार्गमा पर्ने १३७ पुलमध्ये २०८० फागुनसम्म १०२ पुल निर्माण भएका छन्।

हुलाकी राजमार्ग
हुलाकी राजमार्गको कुल लम्बाइ १,८५७ किलोमिटर (लिङ्क सडकसहित) मध्ये २०८० असारसम्म ११७९ किलोमिटर कालोपत्रे भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्रे भई १,२११ किलोमिटर पुगेको छ। राजमार्गमा पर्ने २५० पुलमध्ये २०८० असारसम्म १३२ पुल निर्माण भएकोमा २०८० फागुनसम्म यस्तो सङ्ख्या १३५ पुगेको छ।

कालीगण्डकी करिडोर
उत्तर-दक्षिण राजमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ ४४७ किलोमिटरको गैडाकोट-राम्दी-मालढुङ्गा खण्डको २४५ किलोमिटर सडक खण्डमध्ये २०८० फागुनसम्म १८४ किलोमिटर सडक कालोपत्रे भएको छ।

यस करिडोरअन्तर्गत २०८० असारसम्म मालढुङ्गा-बेनी-जोमसोम-कोरला खण्ड अन्तर्गत २०२ किलोमिटर सडक खण्डमध्ये ३३ किलोमिटर सडक कालोपत्रे र १०० किलोमिटर सडक खण्डास्मित भएको छ भने ५ पुल निर्माण भएका छन्।

कर्णाली करिडोर
कर्णाली करिडोरको कुल लम्बाइ २६९ किलोमिटरमध्ये २०८० असारसम्म २६३.५ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएकोमा २०८० फागुनसम्म ४.५ किलोमिटर थप भई हालसम्म २६८ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएको छ ।

कोशी करिडोर
कोशी करिडोरको कुल लम्बाइ १६२ किलोमिटरमध्ये २०८० असारसम्म ७४ किलोमिटर सडक खण्डास्मित भएकोमा २०८० फागुनसम्म ७८ किलोमिटर सडक खण्डास्मित भएको छ। त्यसैगरी, हालसम्म दुई किलोमिटर सडक ढलान र ११ पुल निर्माण भएका छन्।

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग
काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत २०८० फागुनसम्म सुरूङ्गमार्गको कुल लम्वाइ ६, ४१५ मिटरमध्ये ४,६१३ मिटर सुरूङ्ग खन्ने कार्य सम्पन्न भएको छ। आयोजनाले धेद्रे र लेन डाँडाको सुरुङमार्ग ब्रेक थ्रु गरिसकेको छ। 

मदन भण्डारी राजमार्ग
मदन भण्डारी राजमार्गको कुल लम्बाइ १,३९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्रभित्र पर्ने ७४० किलोमिटरमध्ये २०८० असारसम्म २६८ किलोमिटर सडक कालोपत्रे भएको थियो। 

चालू आर्थिक वर्षको फागुनसम्म २६ किलोमिटर थप भई हालसम्म २९४ किलोमिटर सडक कालोपत्रे भएको छ। यस राजमार्गमा पर्ने १८५ पुलमध्ये २०८० असारसम्म १०८ पुल निर्माण भएकोमा २०८० फागुनसम्म १२७ पुल निर्माण भएका छन् ।
 
सिक्टा सिँचाइ आयोजना
आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० फागुनसम्म भौतिक उपलब्धि ४०.२ प्रतिशत रहेको छ। 

यस आयोजनाअन्तर्गत २०८० को फागुनसम्म बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा ब्यारेज निर्माण, मूलवाँधको दायाँतर्फ ( कमाण्ड क्षेत्र सम्म) ५० क्युमेक्स क्षमता भएको ४५.२५ किमि लामो मूलनहर निर्माण कार्य सम्पन्न भएको छ । 

यसैगरी मूलबाँधको बायाँतर्फ १४.५ क्युमेक्स क्षमता भएको ५३ किमि मूलनहर मध्ये ३७ किमि र शाखा नहर १६.० निर्माण कार्य सम्पन्न भएको छ। हालसम्म २० हजार दुईसय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।

रानी जमरा कुलेरिया सिँचाइ आयोजना
आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० असारसम्मको भौतिक उपलब्धि ७१.० प्रतिशत रहेको छ ।

२०८० फागुनसम्म मूल इन्टेक,   मूल नहरमा गेट जडान, विद्युत गृह र १४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण कार्य सम्पन्न भएको छ। साथै कृषि ग्रामीण सडक ९१.० किमि स्तोरन्नति कार्य सम्पन्न भएको छ। यस आयोजनाबाट ४.७१ मेगावाट जलविद्युत समेत उत्पादन भएको छ।

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० फागुनसम्म भौतिक प्रगति ६५.७ प्रतिशत पुगेको छ।

आयोजना सम्पन्न भएपछि ४६.८ मेगावाट विद्युत उत्पादन हुने यस आयोजना अन्तर्गत नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन प्रयोग गरी १२.२० किलोमिटर लामो सुरुङ्गको निर्माण कार्य सम्पन्न भएको छ। साथै, भेरी नदीमा डाइभर्सन हेडवक्स निर्माण कार्य सम्पन्न भएको छ।

महाकाली सिँचाइ आयोजना 
आर्थिक वर्ष २०८७/८८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० फागुनसम्म भौतिक प्रगति २१.८५ प्रतिशत पुगेको छ। २०८० फागुनसम्म टनकपुर मूल नहर निर्माण कार्यको चे.१२+६९० देखि २३+३०० सम्मको निर्माण कार्य सम्पन्न गरिएको छ भने चे. २३+३०० देखि २८ + ८०० सम्मको करिब ८५ प्रतिशत कार्य सम्पन्न भएको छ। 

साथै, बेसिन डिजाइन निर्माण कार्य करिब ९८.० प्रतिशत सम्पन्न भएको छ। ब्रह्मदेब, मुसेपानी/हात्तीथला तथा फुलेली क्षेत्रको ५३०० हे. क्षेत्रफलमध्ये शाखा नं. २० र २१ बाट करिब ६५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुऱ्याउन संरचना निर्माण भईसकेको छ। साथै, ५ किलोमिटर शाखा नहर निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
आर्थिक वर्ष २०८५/८६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० फागुनसम्मको भौतिक उपलब्धि २७.२ प्रतिशत रहेको छ।

हालसम्म ४५.४६ हेक्टरमध्ये ४४.७६ हेक्टर जग्गा प्राप्ति कार्य सम्पन्न गरी मुआब्जा वितरण सम्पन्न भएको छ । २०८१ बैशाखमा सुरुङ्ग निर्माणको ब्रेकथ्रू भएको छ।

बबई सिँचाइ आयोजना
आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० फागुनसम्मको भौतिक उपलब्धि ७३.० प्रतिशत रहेको छ। २०८० फागुनसम्म १ हेडवर्क्स, ८०.५८ किलोमिटर मूलनहर, २७१.२३ किलोमिटर शाखा/उपशाखा नहर र २५.३९ किलोमिटर बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षणको निर्माण कार्य सम्पन्न भएको छ।

साइफन निर्माण तथा बाढी बाट क्षतिग्रस्त साइफन पुनः निर्माणको सबै कार्य सम्पन्न भएको छ। हालसम्म निर्मित संरचनाबाट पूर्वतर्फ १७,००० हेक्टर र पश्चिमतर्फ ९,००० हेक्टर गरी २६,००० हेक्टर सिँचित क्षेत्रफल सिँचाइ सुविधा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .