ad ad

विचार


पपुलिस्ट राष्ट्रवादीहरूको एकपछि अर्को जित : के उदारवादीहरू डराउन जरुरी छ?

पपुलिस्ट राष्ट्रवादीहरूको एकपछि अर्को जित : के उदारवादीहरू डराउन जरुरी छ?

गिडियन राकमन
असार २०, २०८१ बिहिबार १९:५२,

७ मे २०१७ मा म लन्डनस्थित फ्रान्सेली दूतावासमा थिएँ। त्यही रात फ्रान्समा इम्यानुएल म्याक्रोँले पहिलोपटक राष्ट्रपतिको चुनाव जितेका थिए। विपक्षी उम्मेदवार मरिन ल पेनविरुद्ध उनको निर्णायक जितको खबर जब टेलिभिजन स्क्रिनमा देखियो, तब दूतावासमा जम्मा भएका सबै पाहुनाले हर्षबढाइँ गरे।

सात वर्षपछि ल पेनको र्‍यासम्बलमेन्ट नेसनल पार्टीले फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा सबैभन्दा ज्यादा मत प्राप्त गरेको छ। र, म्याक्रोँको पार्टी नराम्ररी पराजित भएको छ। ल पेनकै आश्रित जोर्डन बार्डेला चाँडै प्रधानमन्त्री बन्न सक्छन्। र, उनी आफैँ पनि २०२७ मा राष्ट्रपतिको सबैभन्दा प्रमुख दाबेदार बनेकी छन्। म्याक्रोँले चरम दक्षिणपन्थीहरूले जित्ने खतरालाई सदाका लागि अन्त्य गरिदिए भन्ने अपेक्षा फगत भ्रान्ति साबित भएको छ।

तर, उदारवादको जितको भ्रममा परेको मुलुक फ्रान्स एक्लो होइन। २००८ मा अमेरिकाको राष्ट्रपतिमा बाराक ओबामाको जितले नस्लवाद अन्त्य भएपछिको नयाँ अमेरिका उदाएको, डेमोक्र्याटिक पार्टीको स्थायी बहुमत स्थापित भएकोजस्ता अनेक खालका विश्लेषण सुरु गरायो।

हो, ओबामाको व्यक्तित्व प्रशंसनीय थियो। उनी हेर्दा सुन्दर थिए। हार्वर्ड पढेका थिए। २०११ मा ह्वाइट हाउस संवाददाताहरूको भोजमा डोनाल्ड ट्रम्पलाई अपमानित गरेर उनले आफ्ना फ्यानहरूलाई मक्ख पारे।

त्यसको १३ वर्षपछि अन्तिम जित भने ट्रम्पको भएको छ। जो, प्रतिशोधमा लीन छन्। राष्ट्रपतिका रूपमा बाइडेनको छवि ध्वस्त भइरहँदा ओबामा लाचार भएर किनारामा उभिइरहेका छन्। ट्रम्प भने दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सन्निकट पुग्दैछन्।

अमेरिका र फ्रान्समा मध्यपन्थी र उदारवादीहरू अलापविलाप गरिरहेका छन्। राष्ट्रवादी पपुलिजम पश्चिमा राजनीतिको अस्थायी विचलन होइन, एउटा स्थायी र प्रमुख विशेषताजस्तै देखिन थालेको छ। २० औँ शताब्दीमा वामपन्थी–दक्षिणपन्थी ध्रुवीकरण थियो। अहिले त्यसको ठाउँ उदार अन्तर्राष्ट्रियवादी र पपुलिस्ट राष्ट्रवादीबीचको विभाजनले लिएको छ।

आन्ध्र महासागरको दुवै किनारामा पपुलिस्ट राष्ट्रवादी शक्तिहरूले उस्तैउस्तै नीति अघि सारेका छन्। आप्रवासन, व्यापार, जलवायु, ‘वोक (जागृत) विरुद्धको युद्ध’ र युक्रेन युद्धबारे। आप्रवासनको विरोध नै उनीहरूको प्रमुख नारा हो। ट्रम्प र ल पेनको तर्क छ– सम्भ्रान्त अनियन्त्रित आप्रवासीहरूले हाम्रो मुलुक ध्वस्त पारेको ‘भूमण्डलीकरणवादी’हरू चुपचाप हेरिरहेका छन्। संरक्षणवाद र राष्ट्रिय प्राथमिकताको माग पनि उनीहरूको प्रमुख मुद्दा हो।

हरित उर्जातर्फको संक्रमण पपुलिस्ट राष्ट्रवादीहरूको नयाँ निसाना बनेको छ। यसलाई उनीहरू अभिजात्य सोख ठान्छन्, जसले साधारण मानिसको खर्च बढाइरहेको छ। ल पेन र ट्रम्प दुवैको सम्बन्ध रुसी नेता भ्लादिमिर पुटिनसँग देखिन्छ। तिनका थुप्रै समर्थक पुटिनलाई परम्परागत मूल्यमान्यता अनि राष्ट्र–राज्यको संरक्षक ठान्छन्। युक्रेनप्रति पश्चिमा गठबन्धनको समर्थनलाई उनीहरू खतरनाक र पैसाको बर्बादीबाहेक केही मान्दैनन्।

त्यस्तै पपुलिस्ट राष्ट्रवादीहरू कोभिड १९ देखि जर्ज सोरोस र बिल गेट्सजस्ता धनीमानीको प्रभावका विषयसम्म हरेक कुरामा षड्यन्त्र देख्छन्। 

फ्रान्स र अमेरिकाको चुनावको अर्थ के हो भने अब पश्चिममा ट्रम्प र ल पेन राष्ट्रवादी पपुलिजमको सबैभन्दा प्रमुख ध्वजवाहक हुन्। युरोपमा उनीहरूजस्ता नेताको संख्या बढ्दै छ।

बेलायतको चुनावमा पनि ट्रम्पका मित्र नाइजल फराजको रिफर्म यूके पार्टीले राम्रो प्रदर्शन गर्ने देखिन्छ। गत वर्ष भएको नेदरल्यान्ड्सको चुनाव गिर्ट विल्डर्सको फ्रिडम पार्टीले जितेको थियो। ल पेनभन्दा पनि चरम दक्षिणपन्थ अँगालेको द अल्टरनेटिभ फर जर्मनी पार्टी हालैको युरोपेली संसदको चुनावमा दोस्रो भएको थियो भने अस्ट्रियाको फ्रिडम पार्टीले सबैभन्दा ज्यादा मत पाएको थियो।

हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बान पपुलिस्ट राष्ट्रवादी आन्दोलनको एक प्रमुख नेताका रूपमा स्थापित छन्। सत्तामा जसरी पनि टिकिरहने उनको खुबीले गर्दा ट्रम्पका निकटस्थहरूले उनको प्रशंसा गर्छन्। त्यस्तै, ल पेनजस्ता युरोपेली पपुलिस्टको निकट पनि छन् उनी।

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी एक महत्वपूर्ण र अस्पष्ट हस्ती हुन्। उनको सम्बन्ध फासीवाद छाडेर अलि नरम विचारधारा अख्तियार गरेका दक्षिणपन्थीहरूसँग छ। ल पेन र अर्बानसँग पनि लामो सम्बन्ध छ उनको। तर, प्रधानमन्त्री पदमा रहँदा उनले आफ्ना केही एजेन्डालाई छाडेकी छन्। उदाहरणका लागि पुटिनको रुसप्रतिको प्रशंसा र ईयूप्रतिको शत्रुता उनले त्यागेकी छन्। यदि ट्रम्पले चुनाव जिते भने ईयू र अमेरिकाबीच संवाद कायम राख्ने माध्यम बन्न सक्छिन् उनी।

ट्रम्प र फ्रान्समा आरएनको पुनरोत्थानले पश्चिममा लोकतन्त्रको भविष्यमाथिको आशंकालाई बढाउँछ। यी चिन्ता जायज पनि छन्। किनकि २०२१ मा सत्तापलटको प्रयासलाई टम्पले प्रोत्साहन गरेका थिए भने फ्रान्सको दक्षिणपन्थी शक्तिहरूको सम्बन्ध युद्धका समयमा हिटलरलाई सघाउनेहरूसँग थियो।
 
तर, उदारवादीहरू आत्तिनु पर्दैन। अमेरिकी वा फ्रान्सेली लोकतन्त्रलाई तहसनहस पार्न त्यति सजिलो छैन। हो, म्याक्रोँ र ओबामाका कारण पपुलिस्ट राष्ट्रवादमाथिको निर्णायक जितको आशा भ्रम साबित भएको छ। तर, उदारवादी, अन्तर्राष्ट्रियवादी उदेश्यको निर्णायक पराजयको डर पनि सायद अतिरञ्जित हो।

एकपटक पपुलिस्टहरूको काम देखेलगत्तै तिनीहरूबाट मतदाताको मोहभंग हुन सक्छ। बेलायतमा अधिकांश मानिस अहिले ब्रेक्जिट असफल भएको मान्छन्। जबकि त्यो पपुलिस्टहरूको सबैभन्दा मुख्य परियोजना थियो। अब यो मुलुकले प्रधानमन्त्रीमा सर किअर स्टार्मरलाई चुन्दैछ, जो मध्यपन्थी हुन्। पपुलिस्ट राष्ट्रवादीहरूले पोल्यान्ड र ब्राजिलमा चुनाव हारेपछि सत्ता गुमाएका छन्। टर्की र भारतमा उनीहरू चुनावी धक्का बेहोरेका छन्।

अमेरिकी मतदाताले पनि ट्रम्पको भद्रगोल पहिलो कार्यकालपछि उनको साथ छाडिदिएका थिए। उनको पुनरोत्थान आंशिक रूपमा यसकारण सम्भव भयो किनकि उनी असाध्यै कमजोर ८१ वर्षीय जो बाइडेनविरुद्ध चुनाव लडिरहेका छन्।

राष्ट्रवादी पपुलिस्टहरूले अघि सार्ने सरल समाधानका उपायहरू व्यवहारमा असफल हुन्छन्। सायद फ्रान्स र अमेरिकाले यो पीडादायी पाठ एकपटक फेरि सिक्दैछन्। दुःखको कुरा, उनीहरूको मूर्खताको परिणाम दुनियाँभरिका मानिसले भोग्नुपर्ने हुन्छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .