ad ad

कारोबार


खुला प्रतिष्पर्धाका आधारमा ‘ग्राउन्ड ह्यान्डलिङ’ दिने प्राधिकरणको निर्णयविरुद्ध निगमका कर्मचारी आन्दोलित

खुला प्रतिष्पर्धाका आधारमा ‘ग्राउन्ड ह्यान्डलिङ’ दिने प्राधिकरणको निर्णयविरुद्ध निगमका कर्मचारी आन्दोलित

नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:४२, काठमाडौँ

नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिष्पर्धाका आधारमा ग्राउन्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन्।

बुधवारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिष्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउन्ड ह्यान्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने उनीहरूले माग राखेका हुन्।

झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन्। उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन्।

युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरुले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमका कारण कालोसूचिबाट नहटेको आरोप लगाउँदै ग्राउन्ड ह्यान्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका डिजीले गरेको निर्णय विरुद्ध आन्दोलन सुरुवात गरिएको बताए।

उनले हवाई माफियाहरुको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्न खोजिएको बताए।

उनले प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको दाबी गरे। उनले निगमले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ४ अर्ब रुपैयाँ आर्जन गर्दै आएको बताए।

उनले अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवालाई लक्षित गरेर आक्रमण गरेको बताए।

कर्मचारीहरुले ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णयविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने बताएका छन्। उनीहरुले निगम र निगमका कर्मचारीहरुको हितको लागि भएपनि प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ निगमलाई नै दिनुपर्ने बताएका छन्।

कर्मचारीहरुले ग्राउन्ड ह्यान्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर, नागरिक उड्डयन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजिनामा दे लगायतका नारा समेत लगाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .