कारोबार


ज‌ंगली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

ज‌ंगली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

नेपालखबर
माघ १९, २०७६ आइतबार ११:४८,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जंगली हात्तीको बथानले व्यापक क्षति पुर्‍याउन थालेको छ। तीन दिनदेखि करीब २० संख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुर्‍याएको हो।

हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पुर्‍याउदै आएको छ। नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए। सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ।

हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन्। खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएको स्थानीयवासी बिन्ता जागरीले बताए।

वर्षात्का बेलासमेत यस क्षेत्रमा हात्तीको बथाले धान बालीमा व्यापक नोक्सानी गरेका थियो। हात्तीलगायतका जनावरले खेतमा लगाएको बालीमा नोक्सानी पुर्‍याउँदै आएपछि स्थानीय किसान साँझ–बिहानको छाक टार्नकै लागि भारतमा मजदूरी गर्न जान बाध्य भएका छन्।

हात्तीको बथानले नगरपालिकाको वडा–७ को सिमलफाँटालगायतका किसानले लगाएको गहुँ बालीसमेतमा क्षति गरेको छ। हात्तीको बथानले प्रतिवर्ष नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ७, ८ र १२ का किसानले लगाएको धान, गहुँ, उखु र केरालगायतको बालीमा क्षति पुर्‍याउने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad