ad ad

कारोबार


वसन्तपुरमा रहेको संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस

वसन्तपुरमा रहेको संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १४:२, काठमाडौँ

वसन्तपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस गरिएको छ। अध्ययन समितिको सिफारिसमा बसन्तपुर डवलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकोले भत्काउन शिफारिस गरिएको हो। 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्काउन सुझाव दिएको छ।

२०७२ सालको भुकम्पले क्षति पुराएको भवनजुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन शिफारिस गरिएको काठमाडौं महानगरले जनाएको छ। 

२०७९ फागुन ११ गते बिहीबार बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो।

समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडा नं. ५ हाँडीगाउँमा रहेको कि. नं. ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो।

जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर कार्तिक १९ गते वडामा निवेदन बुझाएका थिए। निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुग्यो।

विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो। यो समितिले मंसिर ४ गते प्रतिवेदन दिएको छ।

प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड््याइएको जनाएको छ। पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ। 

प्रतिवेदनमा ‘भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ’ भन्ने राय दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .