ad ad

कारोबार


बाह्रबिसे सबस्टेसनको तत्काल निर्माण सक्न प्राधिकरणको ताकेता

बाह्रबिसे सबस्टेसनको तत्काल निर्माण सक्न प्राधिकरणको ताकेता

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १२:४८, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्‌बाट उत्पादित बिजुली खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग कामकारबाहीमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो।

सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र (१५ जनवरी २०२४) सम्पन्न गर्ने तालिका तय गरिएको छ।

कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समय आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए।

घिसिङले सबस्टेसनमा राखिने सम्पूर्ण उपकरण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तीव्रता दिन निर्देशन दिए।

‘मध्यभोटेकोशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भन्नुभयो, ‘काठमाडौँ उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको सुख्खायामको विद्युत्‌को माग धान्नका लागि ठूलो सहयोग गर्छ। त्यसैले, सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिटो जोड्ने अवस्थामा पुगौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं।’

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ।

प्राधिकरणले कार्यसम्पादन सुधार्न पटक पटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ। प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन्। सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन्।

ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान भइरहेका छन्। नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने जडान गर्न बाँकी छ।

सिभिलतर्फको फिनिसिङ काम बाँकी छ। २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ।

कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेकोशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो। आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन्

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युत्‌गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ। प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ।

बाह्रबिसे नगरपालिका ३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत्‌ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताए। सीईओ शिवकोटीले समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गरे।

प्राधिकरणले मध्यभोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ। तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ।

२२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ।

शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ।

कम्पनीले करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्नेछ।

यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरण आपूर्ति भइसकेका छन्। कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गरे।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो। एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ।

तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ। प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरूमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ।

त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्नेछ। एउटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन। प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ।

त्यस्तै, बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन्। ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण चार वटा टावर निर्माण हुन सकिरहेका छैनन्। १९ किलोमिटर तार तानिएको छ।

४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .